देवदह । देवदहमा संचालित आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा देवदहमा रहेका प्रमुख पर्यटकीयस्थलको फोटो प्रदर्शनी गरिएको छ । विभिन्न संघसंस्थाको सहभागितामा देवदहका प्रमुख पर्यटकियस्थलको फोटो तथा आकृति प्रदर्शनी गरिएको महोत्सव मूल आयोजक समिति संयोजक हरि भण्डारीले जानकारी दिए ।
"हामीले देवदहका महत्वपुर्ण पर्यटकीयस्थलको फोटो तथा आकृति महोत्सवमा प्रदर्शन गरेका छौं । यसले महोत्सवमा आउनुहुने महानुभावले देवदहका घुम्नै पर्ने स्थानबारे जानकारी पाउन सक्नुहुने छ भन्ने विस्वास लिएकाछौं ।" मेला आयोजक संस्था उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष समेत रहेका संयोजक भण्डारीले मेलास्थलमा संचारकर्मीसंग भने ।
मेलास्थलमा लुम्बिनी विकास कोषले १० फिट ठूलो बुद्ध मुर्ति राखेको छ । देवदह व्यापार संघले वडा नं ६ मा रहेको पाकरी वृक्षको आकृति राखेको छ । उद्योग व्यापार संघ देवदहले देवदह मेलाको फोटो फ्रेम राखेको छ । स्मृति सामुदायिक वनले देवदह-७ मा रहेको प्रस्तरकला पार्कमा रहेका मुर्तिहरूको फोटो सचिवालय छेउमा राखेको छ । देवदह बौद्ध बिहारले प्रवेशद्वारमा बुद्ध मुर्ति, बुद्ध सामुदायिक वनले राष्ट्रिय गौतम बुद्ध उद्यान देवदह ६ मा रहेका काठबाट बनेका मुर्तिहरुको फोटो राखेको छ । शिवालय सामुदायिक वनले निर्माणाधीन जैविक विविधता पार्कको फोटो प्रदर्शनीस्टलमा राखेको छ ।
प्रदर्शनीस्थलमा राखिएका पर्यटकीयस्थलको तस्वीरमा फोटो खिच्नेको भिड लाग्ने गरेको मेला सचिवालय संयोजक विष्णु न्यापानेले बताए ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् ।
महोत्सवमा गुरुङ र मगर समुदायको कुडुले घर, सेल्फी जोन, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, योग शिविर तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहेको र अवलोकनकर्ताको घुइंचो देखिएको मेला सचिवालय संयोजक विष्णु न्यौपालेले बताए ।
महोत्सवमा २०६ वटा व्यावसायिक स्टल, १२ वटा होटल र ६ वटा सांस्कृतिक खानाका स्टलसंगै ११ वटा कृषि स्टल रहेको स्थल व्यवस्थापन उपसमिति संयोजक अजय भण्डारीले जानकारी दिए ।
कृषि, पर्यटन, उद्योग र व्यापार : देवदह नगर समृद्धिको आधार मूल नारा सहित संचालन गरिएको महोत्सव एक लाख दर्शकले अवलोकन गर्नेे र मेलामा दश करोड बरावरको कारोवार हुने लक्ष्य लिईएको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology