काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका-६,चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ ।
छठ पर्व मनाउन घर जाने क्रममा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४,सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ । घाइतेमध्ये तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीनजनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै,सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ । यसका लागि सम्बन्धित सवारीधनी,यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ ।
सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै,उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology