"छुई भएको त्यो दिन संयोगलाई सबै कुरा भनेको भए पनि हुनेरहेछ। जे हुन्थ्यो-हुन्थ्यो। छुई हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया न रहेछ। एउटी महिला आमा बन्न योग्य छे भनेर जनाउ दिने शारीरिक परिवर्तन त रहेछ। शरीरमा रहेको फोहोर वस्तु रगतको माध्यमबाट बाहिर निस्किने मासिक चक्र। यो संसारमा छुई भएको महिलाले छुन नहुने चिज केही पनि छैन। छुई हुँदा सरसफाइ र आरामको खाँचो हुने कुरा मात्र हो। हाम्रो परम्पराले मलाई आज यो स्थितिमा ल्यायो। यो कुरा नर्सिङ पढ्नु अगावै स्कुले शिक्षामै पढ्न पाएको भए?"
- जानु (छुई भित्रको पात्र)
"छुई" भनेको के हो?
- महिलाहरुमा हुने एक किसिमको मासिक चक्र वा भनौं प्राकृतिक प्रक्रिया जसलाई हामी आ-आफ्नै तरिकाले कतै महिनावारी, कतै रजस्वला, कतै नछुने, कतै पाखा लागेको, कतै मिन्स भएको त कतै पर सरेको भन्छौं, हो त्यही नै हो "छुई"।
शिक्षकलाई कक्षामा पढाउन चाहिने कुराको बारे ज्ञान अवस्य हुन्छ। मेहनती र प्रकृतिप्रेमी मनलाई फूलबारी कसरी स्याहार्ने, सिकाईरहनु पर्दैन। घरलाई कसरी घर जस्तो बनाउने भन्ने बारे असल व्यक्तिलाई प्रष्ट थाह हुन्छ।
तर,
उपन्यास वा कुनै विधाको किताब लेख्न के चाहिन्छ भन्ने अन्योलता हामीमा रहन्छ नै अपवाद बाहेक।
यूएई मुलकबाट लेखनको सुरुवात गरिएको "छुई" युएईकै सन्दर्भमा गएर समापन हुन्छ।
एकजना पात्रलाई एक दुई वास्तविक नाम परिवर्तन गरेर कृतिम नाम दिनुपर्ने कुराको चटारो छ यूएईको एउटा शहरको एउटा वातानुकूलित कोठामा...
नाम नसम्झिएको पनि हैन, प्रख्यात नायिका,लेखक,चित्रकार देखि लिएर नाम चलेका समाजसेवी अझ् स्कुले जीवनका साथि सङ्गी सबैको नाम सम्झिएर पनि चित्त बुझ्दो नाम नभेट्नुमा एउटा अनौठो 'माया' को आभाष पाएँ।
अन्तत: नाम नफेर्ने र वास्तविक नाम राख्ने निर्णयले समयको बर्बादी भएको हो कि जस्तो लाग्नु पनि स्वाभाविक नै होला।
सबु,संयोग, अशोक, यूएईको एक इन्जिनियरिङ कम्पनी र लामो समयपछिको त्यो यादगार भेट....
अनि, बिगतको त्यो प्रेमसम्बन्ध,सत्यरस र गजलका सेरहरु...... अरे वाह!
जून रुनु तारा रुनु कस्तो लाग्छ तिमीलाई?
हाम्रो माया टाढा हुनु कस्तो लाग्छ तिमीलाई?
बाल्टीभरि माया भिजाई तिम्रा मेरा दुवै हातले
मायाले नै माया धुनु कस्तो लाग्छ तिमीलाई?
आगो हो कि पानी हो कि माया आखिर के हो भन्दै
आगो छुदैँ पानी छुनु कस्तो लाग्छ तिमीलाई?
टुक्राटुक्रा बादललाई एकै ठाउँमा भेला पारी
तिम्रो तस्विर बनाउनु कस्तो लाग्छ तिमीलाई?
- घनश्याम पथिक (छुई पात्र: संयोग)
श्री ढुकुरपानी माध्यमिक विद्यालय, दमक ६ झापा स्थापित वि.सं २०१२ उक्त विद्यालयबाट सुरु हुन्छ "छुई" को कथा, रीतालाई छुई भएर डेस्कमा घोप्टो परेर सुतिरहेको कुरामा साथ दिन्छन् शशी र सबुले यता नेपाली शिक्षकले कविताको शीर्षक "साथी" बारे बिद्यार्थिहरुले लेखेर ल्याएको वा नल्याएको बारे गहिरो अनुसन्धान गर्न थाल्नुभयो।
टंक उर्फ टंकेले लेखेको कविता सुन्दा/पढ्दाको मजा तपाईँ हामी पनि लिउँ है त।
म साथी बिर्सिन्नँ
गुच्चा खेल्दाको
रिन्का खेल्दाको
चुङ्गी खेल्दाको
फिलिम हेर्दाको
गोठालो जाँदाको
किनकि हामीसँगै हुन्छौं
मेरो प्यारो साथी 'पोके'।
धन्यवाद
"पोके" अर्थात टंकेको साथी केशव पोखरेल/पोखरेल केशव 'पोके'।
हा... हा... हा...
*************
भलिबल प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगितासगैँ अतिरिक्त क्रियाकलापबाट त्रैमासिक
परीक्षाको सुचना आएको खबर छ विद्यालयमा, सबै जना उत्सुक छन् नतिजा हेर्न/पढ्न/सुन्न।
**********
"छुई भएर मेरो फ्रक पूरै भिजेको छ। अब के गर्नु?" शशीले आफू छुई भएको जानकारी रीतालाई दिन्छिन्।
रीताले तुरुन्तै दिमाग लगाएर विद्यालय छेउमै रहेको आफ्नो फुपूको घरबाट कपडा ल्याएर, अशोक र विनयलाई साचो कुरा भन्दै कक्षाकोठाबाट बाहिर धपाएर शशीलाई सहयोग गर्छिन्।
उता धरानको बूढासुब्बा, दन्तकाली घुम्न जाँदा स्तुतिको पनि छुई हुन्छ र स्तुतिसगैँ घुम्न गएकी दिदीले हौंसला सहित साथ दिन्छिन्।
' दिदीले आफ्नो गोजीमा भएको रुमाल निकाल्छिन् र स्तुतिको निधार र गालाको पसिना पुछिदिन्छिन्।
सल निकालेर पेट बाँधिदिन्छिन्। खुट्टातिर लागेको रगत रुमालले पुछिदिन्छिन्।'
एकजना वृद्ध बुबाले मन्दिरमा चढाउन भनेर लगेको पानि(जल) छुई भएको स्तुतिले पिउँदा उक्त पानी(जल) छुईयो, अब के होला????
उक्त वृद्ध बा लाई "टाउको दुखेको" भनेर झुट बोल्दै लिएको पानी बा ले मन्दिरमा चढाएँ त???
यदी चढाएको हो भने अब अगाडि के हुन्छ त्यसको लागि पनि तपाईँहरुले "छुई" पढ्नुहोला।
"छुई" पढिरहँदा सुन्धाराको स्वस्तिक होटल देखि लिएर ट्याक्सी र ट्याक्सी ड्राइभरसम्मको पात्र निर्माण हुन्छन् र कथामा रोचकता प्रदान हुन्छ वा भनौं भयो मेरो मानसपटलमा।
चकचके र छुलछुले स्वभावको टंके, उसको साथी पोके, राजन वली लगायत धेरैजना पात्रहरुले पनि "छुई" लाई सुनमा सुगन्ध थपेको पाईन्छ।
"छुई" रजस्वलासगँ सम्बन्धित कथा त हो नै तर यो कथासगैँ यहाँ प्रेमसम्बन्ध जोडिएको पाईन्छ, गाउँघर सम्झिएर अतितमा पुग्ने अवसर पाईन्छ।
गजल,कविता पढ्न पाईन्छ।
बिद्यार्थी जीवनको त्यो सुनौलो पलमा डोर्याउछ "छुई"ले।
त्यतीमात्र हैन "छुई"ले आत्महत्याको बारेमा पनि वकालत गरेको छ।
अमरको मिल्ने साथी जो जानुलाई एकातर्फी प्रेम गर्छ "राजन" उसले गरेको आत्महत्याको बारेमा जब प्रहरीहरु जानुको घरमा आउँछन्, समाज भेला हुन्छन् र मृतक राजनको बुवाको तर्क सुनेर सबै चकित हुन्छन् यी सबै कुराहरु पढिरहँदा "एउटा बहुचर्चित चलचित्र हेर्दैछु" भन्ने भान हुन्छ।
राजनले गरेको आत्महत्या, अमरले दिएको बयान, जानुको बुवा,आमा,दाजु, हजुरी(हजुरआमा) को तर्क र राजनका बुवाले गरेको निर्णय बुझ्नको लागि "छुई" अनिवार्य पढ्नै पर्छ।
जानुको असहमति सहितको बिबाह, उक्त बिबाहले हजुरी(हजुरआमा) लाई दिएको खुशी, बिबाह हुने निश्चित पश्चातका दिनहरुमा जानुको मनका बहावहरु, आदि इत्यादिकुरा बुझ्न "छुई" पढ्न अनुरोध गर्दछु।
"छुई" पढ्दै जाँदा बहुत रोमाञ्चित बनाउँछ सगैँ जनचेतनाको स्तर अत्याधिक बढ्नेमा दुईमत छैन विशेष गरि "छुई" अर्थात रजस्वलाको विषयमा।
यो एउटा किताब मात्र नभएर एउटा अभियान पनि हो "छुई" सँग सम्बन्धित नकारात्मक पक्षको चिरफार अभियान, छाउपडी जस्ता अप्राकृतिक नियमको बिरुद्धमा सबैलाई उचित परामर्श दिने अभियान।
लेखक घनश्याम पथिक ज्यू "छुई म्यान" हुनुहुन्छ वहाँको लेखन शैली र स्तरबाट म मात्र हैन हरकोही प्रभावित हुनुहुन्छ। एक पुरुष, नारी पात्र बनेर नारीको वास्तविक व्यथा लेख्न सक्नु भनेको ठुलो चुनौती हो। उक्त चुनौतीलाई वहाँले सहस्र स्वीकार गरेर जिम्मेवार बोध गर्दै बहुत सरल तर गम्भीर विषयमा लेखिएको उपन्यास हो यो "छुई"।
"छुई" जस्तो उपन्यास हामी पाठकले पढ्न पाउनु एउटा गर्वको बिषय हो। सहृदय धन्यवाद ज्ञापन गर्दछु लेखक घनश्याम पथिक ज्यू, "छुई" ले सबैको मन छुन सकोस्,मुटु छुन सकोस्, सबैको मस्तिष्क छुन सकोस् हार्दिक शुभकामना व्यक्त गर्दछु।
अन्त्यमा;
सानी नानी सजा (जानुकी छोरी) को सानो भुमिकाले पनि ठुलो अर्थ राखेको छ।
अनि नि, यहाँ नेर आईपुग्दा मेरो आँखा रसायो भन्न मैले अफ्ट्यारो मान्न हुन्न;
"छोरी सजा, तिमीले यो गिफ्ट तिम्रो आमालाई दिनु ल।"
- श्री भवानी नेपाल
ईटहरी
हाल: यूएई दुबई
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology