देवदह । रूपन्देहीको देवदहमा युथ समिट हुने भएको छ । बुधबार देवदहमा पत्रकार भेटघाट गर्दै युवामैत्री नीति निर्माण र बनेका नीतिको सहि ढंगले कार्यान्वयन गर्न ध्यानाकर्षण गराउने उद्धेश्यले समृद्ध समुदाय विकास केन्द्र र सेतोमसी डटकमको आयोजनामा फाल्गुन ४ गते 'युवाका सवाल' विशेष युथ समिट गर्न लागिएको जनाईएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समृद्ध समुदाय विकास केन्द्रका व्यवस्थापक युवराज चापागाईंले युवा नीति र यसको कार्यान्वयनको विषयमा युथ समिटमा चर्चा हुने बताए । राज्यको नीति युवामैत्री नहुँदा युवा पलायनको समस्या बढीरहेको उल्लेख गर्दै व्यवस्थापक चापागाईंले युवालाई उद्यममा जोड्न र युवा सरोकारलाई राज्यको नीति र कार्यान्वयनको तहमा सम्बोधन गर्न ढिलाई गर्न नहुनेमा जोड दिए ।
पत्रकार सम्मेलनमा बोल्दै सेतोमसी डटकमका सम्पादक विष्णु पोखरेलले युथ समिटमा युवा नीति र यसको कार्यान्वयनको विषयमा प्रिजेन्टेसनसंगै दुई सेशनमा प्यानल छलफल हुने बताए ।
पहिलो सेशनमा कायम युवा नीति र यसको कार्यान्वयनको विषयमा छलफल हुने र दोस्रो सेशनमा नयाँ नीति निर्माण वा नीतिगत सुधारको विषयमा छलफल गरिने आयोजकले जनाएको छ ।
प्यानल छलफलमा प्रदेश युवा परिषदका पदाधिकारी, देवदह नगरपालिकाका जनप्रतिनिधि र पदाधिकारी, मानव अधिकारकर्मी र मिडियाकर्मीसंगै देवदहका एक सय जना युवाको सहभागिता हुने जनाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology