काठमाण्डाै । आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएकाे छ । आसिफ शेख र अनिल शाहको अर्धशतकमा नेपालले नेदरल्यान्डस लाई सहजै हराएको हो । गत नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिववसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन ।
नेदरल्यान्ड्सले दिएकाे १ सय ३८ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए । आसिफ ५४ र अनिल ५७ रनमा नट आउट रहे । यस्तै ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भए । नेपालको एक विकेट नेदरल्यान्ड्सका भिभान किङ्माले लिए ।
काठमाडौ स्थित कीर्तिपुरकाे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन मात्रै बनाएको थियो । नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा साेमपाल कामी र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए । नेदरल्याण्ड्सका २ जना खेलाडी रन आउट भएका थिए ।
गत बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । खराब ब्याटिङका कारण नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।
त्यही भएर आजको खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । इन्टरनेसनल लिग ट्वान्टी-२० मा गल्फ जायन्ट्सबाट सहभागी हुन दुबई जाँदा दीपेन्द्रले नामिबियासँगको खेल गुमाएका थिए । दीपेन्द्रलाई पवन सर्राफको स्थानमा ल्याइएको छ । त्यस्तै देव खनाललाई करण केसीको स्थानमा खेलाइएको छ ।
आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology