Logo

२०८३, आश्विन १७गते


images
images

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन

images
  • सेतोमसी सहकर्मी
  • अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन
    images
    images

    गल्याङ (स्याङ्जा)। स्याङ्जाको गल्याङ नगरपालिका–६ पिडीँखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन् ।

    images
    images
    images

    भारत, सिङ्गापुर, मलेसिया, कङ्गो, कुवेतलगायत देशमा १८ वर्ष रोजगार गरेर फर्किएपछि उहाँले गाउँमै बाख्रापालन व्यवसाय सुरु गरेका हुन् ।

    images
    images
    images

    परम्परागत रूपमा बाउबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित गुरुङले अढाई वर्षपहिले रु पाँच लाख लगानी गरेर कृष्टिना गुरुङ बोयर बाख्रा तथा कृषि पशुपक्षी फार्ममार्फत १२ बाख्राबाट व्यवसाय सुरु गरेका थिए ।

    images
    images
    images

    गुरुङले २०७८ सालमा म्याग्दीबाट रु एक लाख ५० हजार बोयर बाख्राको पाठो र चापकोटबाट रु एक लाख २० हजार बोयर माउ ल्याएर बाख्रापालन थालेको बताए ।

    “बाख्रापान गर्दै जाँदा रु सात लाख लगानी गरेर आधुनिक खोर बनाएँ,” उनले भने, “फार्ममा अहिले ५६ बाख्रा छन् ।” गुरुङको फार्म चरन क्षेत्र, घाँसे बारी, खोरसहित १५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    “लामो समय विदेश बस्दा पनि खासै उपलब्धि हुन सकेन, अलिअलि कमाएको पैसाले बाख्रापालन गरेर परिवारसँग बस्छु भन्ने सोच थियो, युट्युब हेर्दै जाँदा नेपालमा बोयर बाख्राको राम्रो सम्भावना रहेको देखेँ”, उनले भने, “हाम्रोजस्तो ठाउँमा सिधै बाहिरबाट ल्याएको शुद्ध बोयर राम्रो नहुने भएकाले खरी जातका बाख्रामा बोयर क्रस गरेर बाख्रा पाल्दै आएको छु ।” गुरुङले खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म रु १८ लाख लगानी पुगेको सुनाए ।

    उनले खरी जातका बाख्रामा बोयर क्रस गर्दै शुद्ध बोयर बनाउने लक्ष्यका साथ बाख्रापालन सुरु गरेको बताए । 

    “हाल मेरो फार्ममा ७५ प्रतिशत, ६२ प्रतिशत र ५० प्रतिशतका बोयर बाख्रा रहेका छन्”, उनले भने, “आगामी तीन वर्षमा शत्प्रतिशत बोयर बाख्रा बनाउने उद्देश्य छ ।”

    गुरुङले कोरोनाकालमा लकडाउनले गर्दा बाख्रापालन व्यवसायलाई सोचेअनुसार गति दिन नसकेको गुनासो गरे । “स्वदेश फर्केर बाख्रापालन गर्छु भन्ने सोचले रकम जम्मा पारेको थिएँ”, उनले भने, “स्वदेश फर्किएपछि लकडाउन भयो, सोचेजस्तो लगानी गर्न सकिएन, लगानीको अभावमा व्यवसाय विस्तारमा अल्लि ढिला भयो ।”

    अहिले व्यवसाय राम्रो हुँदै गएको उनले बताए । “उत्पादन गर्न सके बजार पनि राम्रो छ”, गुरुङले भने, “प्रतिकिलो रु नौ सय ५० मा वालिङ बजारमै काटेको मासु बिक्री गर्दै आएको छु, उत्पादन कम भएकाले बाहिरको माग धान्न सकिरहेको छैन ।”

    खोर अग्लो भएका कारण जाडो मौसममा समस्या देखिने गरेको सुनाउँदै उहाँले हालसम्म विभिन्न रोगका कारण ४४ बाख्रा मरेको बताए ।

    गुरुङले पशुपक्षीमा स्वास्थ्य समस्या आएमा गल्याङ नगरपालिकाको पशु स्वास्थ्य समूहले तत्काल सेवा दिँदा आफूलाई सहज भएको बताए ।

    जिल्ला पशु विज्ञबाट खोर सुधार कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार र नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु ३३ हजार अनुदान दिएको उनले सुनाए। 

    गाउँमा गरेको व्यवसाय फस्टाउँदै गएपछि गाउँलेहरू र विभिन्न सामाजिक व्यक्तित्वले व्यवसायलाई थप विस्तार तथा व्यवस्थित गराउन सुझाव दिने गरेको उनले बताए ।

    उनले चरन क्षेत्रको पनि राम्रो सुविधा भएको बताए । “बाख्रापालन गर्दा घाँसको व्यवस्थापन गरेर पाल्न सकियो भने उत्पादन लागत मूल्य घट्न जान्छ”, गुरुङले भने, “मैले स्थानीय जातका घाँसबाहेक उन्नत जातका १२ प्रकारका घाँस लगाएको छु ।”

    उनले करिब चार सय बोट सुन्तला पनि लगाएका छन् ।  उनले लगाएका सुन्तला बगैँचामा केहीले उत्पादन दिएका छभने केहीले निकट भविष्यमै उत्पादन दिने बताए ।

    गुरुङ बिहान ४ः३० देखि साँझ छ बजेसम्म नै बाख्राको स्याहारसुसार र रेखदेखमा खटिने गर्छन् । उनको कामलाई श्रीमती भीमकुमारी गुरुङले पनि राम्रो साथ दिँदै आएकि छिन् । उनको एक छोरी पनि छिन् ।

    गुरुङलाई १८ वर्ष विदेश बसेकामा पछुतो छ । उहाँले विदेशको श्रम स्वदेशमा गर्ने हो भने विदेशभन्दा राम्रो कमाई गर्न सकिने अनुभव सुनाए। 

    गुरुङले आफूले गर्ने कामको प्राविधिक ज्ञान लिएर निरन्तर काम गर्न सकेमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । उनले कृषकलाई आधुनिक प्रविधिसहितका तालिमको व्यवस्था निरन्तर गरिदिन सरोकारवालासँग आग्रह गरे । रासस

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाख्रापालन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।