देवदह । देवदह नगरपालिकामा वारुण यन्त्र संचालनको लागि त्रिपक्षीय पालिकास्तरीय बैठक सम्पन्न भएको छ । देवदह नगरपालिका, रोहिणी गाउपालिका र ओमसतिया गाउपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखहरुको सहभागिता रहेको बैठकले अन्तरस्थानीय तह वारुणयन्त्र संचालन तथा व्यवस्थापन कार्यविधि–२०८० पारित गरेको छ । 
बैठकले वारुणयन्त्रको व्यवस्थापन सम्वन्धी क्रियाकलापहरुलाई एकीकृत रूपमा अघि बढाउनको लागि देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रोहिणी गाउपालिकाका प्रमुख विद्या यादव, ओमसतियाका प्रमुख मनजीत यादव, तिनै पालिकाका उपप्रमुख, तिनै पालिकाका प्रमुख प्रशासकीय अधिकृत, देवदह नगरपालिका–१, का वडाअध्यक्ष सदस्य रहने र ओमसतिया गाउपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सदस्य सचिव रहने जनाईएको छ ।
तत्काल वारुणयन्त्र संचालनको जनशक्ति पदपूर्ति गर्ने निर्णय गरेको बैठकले कर्मचारी पदपूर्ति गर्न देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत संयोजक रहेको समिति गठन गरेको छ । समितिमा ओमसतिया र रोहिणी गाउपालिकाका प्रमुख प्रशासकीय, तिनै पालिकाका लेखा प्रमुख रहने व्यवस्था गरिएको छ ।
बैठकले पारित गरेको कार्यविधि तिनै पालिकाको कार्यपालिका बैठकमा पेश गरी निर्णय गराउने निर्ण गरिएको ओमसतिया गाउपालिकाका अध्यक्ष मनजीत यादवले जानकारी दिए ।
देवदह नगरपालिकाको ५० प्रतिशत, ओमसतिया गाउपालिका र रोहिणी गाउपालिकाको २५÷२५ प्रतिशत लगानीमा वारुणयन्त्र खरीद गरिएको छ । यसको व्यवस्थापनको लागि तिनै गाउँपालिकाले व्यहोर्ने गरी अगाडि बढ्ने निर्णय गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology