देवदह । देवदहमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरदैलो स्वास्थ्य सेवा (शिविर) सुरू भएको छ । शुक्रबार एक कार्यक्रमबीच देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले शिविरको सुरुवात गरे ।
देवदहका ६ वटा वडाहरू वडा नं १, २, ३, ५, ११ र १२ मा संचालन हुने शिविरमा नगरपालिकाको टिम फिजिसियन डाक्टर सहित नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य सेवा र स्वास्थ्य सामग्री प्रदान गर्ने नगर उप-प्रमुख तथा नगरपालिका अपाङ्गता समन्वय समिति संयोजक विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् । "पूर्ण अपाङ्गता हुनुभएका नगरवासीलाई घरदैलोमै स्वास्थ्य सेवासंगै प्यारासिटामोल, जीवनजल, डिटोल, कटन, नेलकटर, हर्लिक्स, डाइपर, प्याड लगायतका स्वास्थ्य सामग्री पनि उपलब्ध गराईएको छ" उपप्रमुख गुरुङले भनिन् ।
शुक्रबार देवदह-५ का १८ जना नागरिकलाई स्वास्थ्य सेवा दिएको शिविरमा संचालन अवधिभर ७७ जनालाई सेवा दिने लक्ष्य राखिएको छ ।
देवदह नगरपालिकाले गतसाल वडा नं ४, ६, ८,९ र १० मा शिविर संचालन गरेको थियो ।
शुक्रबारको शिविर उद्घाटन कार्य्करममा देवदह नगरपालिका अपाङ्गता समन्वय समितिका संयोजक तथा नगर उप-प्रमुख श्री विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology