देवदह । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले भोजपुरी भाषामा नागरिक वडापत्र राखेको छ । भाषिक समस्याका कारण आमनागरिकले प्रहरी सेवाबाट वञ्चित वा थप झञ्झट व्यहोर्नु नपरोस् भनेर स्थानिय भाषामा नागरिक वडापत्रको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
शनिबार एक कार्यक्रमबीच जिल्ला कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक काजीकुमार आचार्य, पुर्व प्रहरी संगठन नवलपरासीका अध्यक्ष ओम प्रकाश चौधरी लगायतको उपस्थितीमा भोजपुरी भाषाको नागरिक वडापत्रको उद्घाटन गरिएको छ ।
वडापत्रमा आमनागरिकले प्रहरी कार्यालयबाट प्राप्त हुने सेवा,लाग्ने समय, सो सम्वन्धि प्रकृयाका साथै सम्बन्धित शाखा, जिम्मेवार अधिकारी तथा गुनासो सुन्ने अधिकारीका विषयमा बिस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।
सार्वजनिक सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम राख्ने प्रत्येक सरकारी कार्यालयले सबैले देख्ने ठाउँमा नागरिक वडापत्र राख्नु पर्ने सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को व्यवस्था अनुरुप कार्यालय परिसरमा नेपाली भाषामा नागरिक वडापत्र राखेर कार्यान्वयनमा ल्याइदै आइएकोमा नवलपरासी प्रहरीले स्थानीय भाषामा समेत नागरिक वडापत्र राखेर थप नागरिकमैत्री सेवा प्रवाहको अभ्यास गर्न लागेको प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा भाषा र प्रकृयाको जानकारीका अभावमा तेस्रो पक्षको सहारा खोज्ने प्रवृत्तिलाई अन्त्य गरि नागरिक मैत्री सेवा प्रवाहमा अभिवृद्धि गर्ने उद्देश्यले सेवाग्राहीहरुको सहजता र सुविधाको लागि २ जना नागरिक सहजकर्ता समेत परिचालन गरिएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology