नुवाकोट । जिल्लाको म्यागङ -५ सामरीमा बागमती प्रदेश अन्तर्पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । “भलिबल खेलाडीहरूको पहिचान तथा प्रवर्द्धन, खेल खेलाडी र क्षमताको संरक्षण” भन्ने मूल नारासहित प्रतियोगिता हुन लागेको हो ।
सामरीमा आयोजित पत्रकार सम्मेलनमा म्यागङ क्लबका अध्यक्ष विजय गुरुङले यस्ता खेलहरुले पालिकाको पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउने अपेक्षा राखिएको बताए । गाउँपालिका अध्यक्ष आशाबहादुर तामाङले प्रतियोगितामा बागमती प्रदेशका २५ भन्दा बढी पालिकाले सहभागिता जनाउने अपेक्षा राखेको जानकारी दिए ।
समाजसेवी रामेश्वर खड्का र खेल संयोजक पाल्देन लामाले २०७२ साल वैशाख १२ गते भुकम्प गएको दिन पनि प्रतियोगिता सञ्चालन भएकाले धेरैको ज्यान जोगिएको बताए । उक्त दिन आमनागरिकहरुको धनजनको क्षति हुनबाट जोगिएकोले प्रतियोगितालाई निरन्तरता दिदैँ आइरहेको उनीहरूले बताए ।
२०८१ बैशाख ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख तीन हजार ३३३ रुपैयाँ, द्वितीय पुरस्कार दुई लाख दुई हजार २२२ रुपैयाँ, तृतीय पुरस्कार ५० हजार ५५५ रुपैयाँ र सान्त्वना पुरस्कार २५ हजार राखिएको छ ।
प्रतियोगितामा राष्ट्रिय निर्णायक तथा व्यवसायिक खेलाडीहरूको सहभागिताले खेल र खेलाडीहरूको मनोबल बढ्ने क्लबका अध्यक्ष विजय गुरुङले बताए ।
प्रतियोगिताका लागि अनुमानित १२ लाख रुपैयाँ खर्छ लाग्ने गाउँपालिका उपाध्यक्ष सिता तामाङले जानकारी दिइन् ।
प्रतियोगितामा नौ जना स्थानीय तहकै खेलाडी हुनु पर्नेछ भने तीन जना खेलाडी व्यवसायिक राख्न सकिने प्रावधान रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि दर्ता शुल्क २० हजार रुपैयाँ तोकिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology