राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बस्ने तय भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताए ।
‘प्रदेशसभा बैठक बस्ने जानकारी सभामुखले गराउनुभएको छ । बैठक बस्ने सूचना प्रकाशित भएको छ’, उनले भने । आइतबारको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको सुवेदीले पुष्टि गरे ।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले वैशाख २४ गतेसम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा १६८ को उपधारा (४) मा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था उल्लेख छ ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २५ गते नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेकोे थिए । सर्वोच्चले सभामुखबाहेक ५९ प्रदेश सभा सदस्यको ३० जनाले बहुमत पुग्ने व्याख्यासहित बैशाख १७ गते रिट खारेज गरेपछि अधिकारीलाई विश्वासको मत लिने बाटो खुलेको हो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रीपरिषद्को सिफारिसमा यसअघि नै बैशाख ७ गते प्रदेश सभाको विशेष अधिवेशन डाकेका थिए । प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैैठक बहिष्कार गरे । बहिष्कारका बाबजुद पनि बैठक बस्यो । प्रतिपक्षको बेन्च खालि भएपछि ५ मिनेट मात्रै बसेको बैठक सभामुख कृष्णप्रसाद धितालले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगीत गरेका थिए ।
राप्रपाले समर्थन नजनाएसम्म मुख्यमन्त्री अधिकारीले विश्वासकोे मत प्राप्त गर्ने अवस्था देखिदैन । त्यसैले गठबन्धन दलले राप्रपालाई फकाइरहेका छन् ।
राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले विश्वासको मत दिने बारे कुनै निणर्य नभएको बताउँछन् । ‘सरकारमा जाने विषयमा निणर्य गर्ने अधिकार पार्टीले केन्द्रिय अध्यक्षलाई दिएको छ । अहिलेसम्म के गर्ने कुनै निणर्य आएको छैन’, उनले भने ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीको पक्षमा नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ जना (सभामुख) सहित र स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दीपक मनाङे) छन् । प्रतिपक्ष कांग्रेसको गण्डकीको २७ र राप्रपाका २ सांसद छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology