काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन कायम हुने बताएका छन् ।
नेपाल बार एसोसिएसनले आयोजना गरेको १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने, 'लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्याय निवारणको उपाय र उपचार हो । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरा पनि हामीले विर्सन हुन्न ।'
राष्ट्रपति पौडेलले न्याय महसुस हुनुपर्ने पनि बताए । 'न्याय, न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ,' उनले भने । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एसोसिएसनले न्याय कानुनका विषयमा गर्ने महत्त्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने निष्कर्षले मुलुकमा न्यायपूर्ण एवम् सुशासनयुक्त अवस्था सिर्जना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ ।
न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगी मात्र हैन, त्यसको सारथि पनि हुन सक्ने उनको भनाइ थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology