काठमाडौं। नेपाली साहित्यकार कतारमा सम्मानित भएका छ्न् । रमेश स्मृति कोष नेपालले प्रदान गर्दै आइरहेको ‘रमेश स्मृति पुरस्कार–२०८०’ समर्पण कार्यक्रम तथा गजलकार ‘केबि धुवाँले’ (कुश बहादुर पौडेल)को एकल रचना वाचन कार्यक्रममा नेपाली साहित्यकार सम्मानित भएका हुन ।
कोषले प्रदान गर्ने हरिलठ्ठक स्मृति सम्मान ‘भत्किएको पर्खाल’ कृतिका लेखिका सरस्वती बस्याललाई प्रदान गरिएको छ । साहित्यकार रमेश हरिलठ्ठकको स्मृतिमा स्थापित कोषले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘रमेश स्मृति सम्मान’ रुपन्देहीको देवदहमा बसेर साहित्य साधना तथा समाज सेवामा सक्रिय रहँदै आएकी बस्याललाई प्रदान गरिएको हो । तस्तै कार्यक्रममा गजलकार ‘केबि धुवाँले’ (कुश बहादुर पौडेल) ले एकल रचना वाचन गरेका थिए ।
कार्यक्रममा हरिलठ्ठकका बारेमा उनलाई नजिकबाट चिन्ने सर्जक तथा साहित्यकारले आफ्नो स्मृतिमा रहेका पलहरू भिडियो फुटेजमार्फत व्यक्त गरेका थिए भने छोराको प्रेरणाले साहित्यमा लागेको बताउँदै उनले आफ्नो रचनासमेत प्रस्तुत गरिन् ।
कार्यक्रममा लेखक पूर्ण बिसीको ‘आमा’ उपन्यास तथा बस्याल र समीम गैरे (आमा छोरा)को संयुक्त मुक्तक संग्रह ‘भत्किएको पर्खाल’को कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास कतारका प्रथम सचिव कृष्णकुमार सुवेदी, कार्यक्रमका सभापति तथा समाज सेवा अभियान रुपन्देही कतारका लक्ष्मण पौडेललगायतका विशिष्ट स्रोताले लोकार्पण गरे ।
कार्यक्रममा कतारमा रहेर नेपाली भाषा साहित्यमा कलम चलाइरहेका साहित्यकार, पत्रकार, समाजसेवीलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित नेपालबाट आमन्त्रित उज्यालो लाल्टिन प्रतिष्ठानका पूर्वअध्यक्ष तथा सल्लाहकार मुकेश ज्ञवाली र सागर कँडेलको विशिष्ट आतिथ्यतासहित रचना वाचनसमेत रहेको थियो । उज्यालो लाल्टिनको क्यान्सरको कालोविरुद्ध उज्यालो पुस्तक बिक्री अभियान दोहा कतारबाट योद्धा नवराज न्यौपानेको २६ वटा प्रति कृति कतारी रियाल २० का दरले बिक्री भएको छ ।
कार्यक्रममा धुवाँलेको जीवनी समेटिएको वृत्तचित्र देखाउँदै फरक तवरले आसन ग्रहण गराइएको थियो भने बस्यालको जीवनी समेटिएको वृत्तचित्र देखाइएको थियो । आमाको वृत्तचित्र चलिरहँदा उनका छोरा समीमले उनको आमाको संघर्षमा सघाएको कथाले माहोल भावुक र प्रेरणादायी बनेको थियो । कार्यक्रममा बोल्दै रमेश स्मृति कोषका संयोजक दीप मिलनले कस्तो होला कार्यक्रम भन्ने डर मनमा रहे पनि कार्यक्रमको माहोल हेर्दा आफू निःशब्द भएको बताए ।
साहित्यकार प्रेम प्रसाद भट्टराईले स्वागत मन्तव्य राख्दै कतारको साहित्यका बारेमा अवगत गराएका थिए । उनले कतार नेपाली साहित्यमा अग्रपङ्क्तिमा रहेको राष्ट्र रहेको बताउँदै तीन वटा फरक–फरक साहित्यिक संस्थाले नियमित डबली सञ्चालन गरिरहेको स्मरण गरे । उनले एनआरएनए एनसीसी कतार र कतारका विभिन्न संघसंस्थाले पनि साहित्यिक विभाग स्थापना गर्दै नेपाली साहित्यमा इँटा थपेको बताए ।
कार्यक्रममा विमोचन भएको ‘भत्किएको पर्खाल’का सर्जकमध्येका एक सर्जक गैरेले आफ्ना मुक्तक वाचन गरेका थिए । कार्यक्रम अवधिभर खेम भट्टराईको बाँसुरीको मधुर धुनले हललाई वास्तवमै साहित्यमय बनाएको थियो भने सहयोगी मिडिया तथा सर्जकहरू सबैलाई सम्मान समेत गरिएको थियो ।
सञ्चारकर्मी तथा साहित्यकार सोम थापाले सहजीकरण गरेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सुवेदीले कतारमा एक नमुना साहित्यिक कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology