रैनादेवी छहरा । पाल्पाको रैनादेबी छहरा गाउँपालिकास्थित सर्देवामा निर्माणाधिन सिजि सिमेन्टको निर्माण कार्य अवरुद्ध भएको छ । सिजि सिमेन्टको निर्माण कार्यको जिम्मा लिएको भारतीय कम्पनी आयुकी फेब्रीकन प्राइभेट लिमिटेडको कार्यालयमा मजदुरहरुले ३ दिनदेखि तालाबन्दी गरेपछि निर्माण कार्य अवरुद्ध भएको हो ।
लामो समयदेखि काम गर्दै आएका मजदुर तथा ठेकेदारलाई बिगत १३ महिनादेखी कम्पनीले तलब नदिएको भन्दै आयुकी फेब्रीकन कम्पनीमा ताला लगाएर कामदारहरू आन्दोलनमा उत्रीएको सिजि सिमेन्ट रामकाजी सिटौलले बताए । भारतिय कम्पनी फेब्रीकनले सिजीबाट भुक्तानी लिईसकेको जानकारी दिदैँ सिटौलाले आन्दोलनरत मजदुरलाई उसले किन तलब दिएन भन्नेबारेमा आफु जानकार नभएको बताए । 
यस विषयमा सेतोमसीसंग कुरा गर्दै आयुकी फेब्रीकनका लेखा प्रमुख हरि प्रसाद भण्डारीले मजदुरको भन्दा पनि केही स्थानीय र सप्लायर्सको कारणले तालाबन्दी भएको बताए । "मजदुरको रकम होईन केही स्थानीय सप्लायर्सको रकम विविध कारणले रोकिएकोले उनीहरूले मजदुरलाई काम गर्न नदिएका हुन्" - भण्डारीले सेतोमसीलाई भने । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन किन मान्नुभएन तपाईंहरुले भन्ने हाम्रो प्रश्नमा त्यस्तो नभएको र आफु अहिलेपनि जिल्ला प्रशासनमै जान लागेको जिकिर गरे ।
यस अघि जिल्ला प्रशासन कार्यालय पाल्पामा मजदुरहरुले काम गरेबापतको तलब भुक्तानी नपाएको भन्दै निवेदन दिएपछि प्रमुख जिल्ला अधिकारी, सिजि सिमेन्टका अधिकारी र फेब्रीकन कम्पनीविच १० दिनभित्र मजदुरको भुक्तानी दिने सहमति भएपनि कम्पनी उक्त सहमतिबाट पछि हटेपछि मजदुर आन्दोलित भएको स्थानीय विष्णु पोखरेलले बताए ।
तलब नपाएपछि मजदुरले तिर्न सकेनन् रासनको १ करोड १३ लाख ५५ हजार, मर्कामा स्थानीय व्यवसायी
यसै गरि १३ महिनासम्म तलब नपाएपछि कामदारले स्थानीय किराना लगायतका व्यवसायीसंगबाट लिएको उधारो चुकाउन सकेका छैनन् । एक स्थानीय पसलेका अनुसार यो अवधिमा मजदुरहरुले सर्देवाका व्यवसायीहरूबाट १ करोड १३ लाख ५५ हजार बराबरको सामान उधारो लिएका छन् ।
"मजदुरले पैसा पाएका छैनन् त्यसैले रासनको पैसा पनि कहाँ बाट तिरुन् , मजदुर त अफ्ट्यारोमा परे परे हामीलाई पनि सार्है समस्या परेको छ" एक व्यवसायीले सेतोमसीलाई भने ।
२३ मजदुरको २ करोड ६७ लाख ४७ हजार पारिश्रमिक तिर्न भारतीय कम्पनीको आनाकानी
सेतोमसीलाई प्राप्त तथ्यांक अनुसार भारतिय कम्पनी फेब्रीकनमा काम गर्ने २३ जना मजदुरले १३ महिनाको पारिश्रमिकको रकम २ करोड ६७ लाख ४७ हजार २०३ रुपैया कामदारले पाउँनुपर्ने छ । त्यही रकम कामदारको खातामा पठाउनुको सट्टा बारम्बार मजदुरलाई झुक्याउँदै आएको कामदारहरू बताउँछन् ।
भारतीय कम्पनीले रकम भुक्तानी गर्नुपर्ने २३ जना नेपाली मजदुर र रकमको विवरण यस्तो छ । हेर्नुहोस - तलको तस्वीर ।

पाल्पा जिल्लाकै रामपुर पछिको दोस्रो ठूलो सर्देवा फाँटको करिव ४०० रोपनी जग्गा किनेर चौधरी ग्रुपले सिमेन्ट उद्योग निर्माण गर्न लागेपछि सर्देवाको रुप नै फेरिएको छ ।
साउन-भदौको यो समयमा फाटैभरी हरियाली हुने समय हो यो । तर, सर्देवा अहिले त्यस्तो देखिदैन । धमाधम निर्माण कार्य चलेको छ वा रोकिएपनि कोलाहल कायम छ । एकातिर टिप्परको कर्कस आवास कानमा गुन्जिरहन्छ भने अर्को तिर धुलो र धुवाले समेत सर्देवाली जनता प्रताडित भैरहेको अवस्थामा त्यहीँ सर्देवामै काम गर्ने नेपाली मजदुर र स्थानीय व्यवसायीहरुले आफुले पाउनुपर्ने रकम पाउनबाट बन्चित हुनु दु:खद विषय हो । यसमा सम्बन्धित निकायको समयमै ध्यान जानू जरुरी छ
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology