लुम्बिनी । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फिर्कदै गर्दाको प्रतीकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलवस्तुका तिलौराकोट दरबार लगिएको छ ।
सिद्धार्थ गौतमलाई बुद्धपूर्णिमाको अर्का दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै शुक्रबार बोधिसत्व सिद्धार्थ शिशु बुद्धलाई तिलैराकाेट दरबारतर्फ लगिएको हाे ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास काेषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्ध बोधिसत्व सिद्धार्थकाे धातुको मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाएको हाे ।
बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कदाकाे क्षणलाई स्मरण गरि बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । राजा शुद्धोधन र मायादेवीको स्वरूप बाएर बंगिमा चढाएर शिशु बुद्ध तिलौराकोट लगिएको छ ।
बुद्धका पिता राजा शुद्धोधन छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बाैद्व धर्मग्रन्थमा उल्लेख छ । काेषले २५६७ औं बुद्धजयन्तीको अवसरमा शिशु बुद्धलाई बाजागाजा सहित २६ किमिको भव्य शोभायात्रा निकालेको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षणलाई स्मरण गराउने काेसिस गरिएको परिषद सदस्य गोपिकृष्ण शर्माले बताए ।
लुम्बिनीदेखि लगिएकाे शिशु बुद्धलाई तिलौराकोट लगेपछि कार्यक्रम गरिनेछ । बौद्ध ग्रन्थ अनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन् । रमणीय बगैंचा लुम्बिनी पुगेपछि डेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् ।
यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो । सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौँ गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए ।
सिंगो कपिलवस्तुमा कयौं दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो । भगवान शाक्यमुनि बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा माता मायादेवीको कोखबाट बैशाख शुक्लपूूर्णिमाका दिन भएको थियो ।
बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एंव लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । विहिबार प्रधानमन्त्री पुष्पकमल दाहाफ प्रचण्डकाे प्रमुख आतिथ्यतामा मूल समाराेह गरिएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology