देवदह । हावाहुरीका कारण यूगज्योती मावि देवदहमा ६ लाख ८० हजार रुपैंया बराबरको क्षती भएको छ । हावाहुरीले बिद्यालयमा जस्ताको छाना उडाएको र पानी भित्र पस्दा जिप्सनमा समेत क्षती हुन पुको बिद्यालयले जनाएको छ । आज विहान नगरको वातावरण तथा विपद ब्यवस्थापन समिति, वडाका प्रतिनिधि र प्रहरी सहितको अनुगमन टोलिले क्षतीको मुल्याङ्कन गरेको बिद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिए ।
अकस्मात मौसममा आएको परिवर्तन पछि बिहिबार साँझ केहिबेर आएको हावाहुरीका कारण देवदह वडा नं ६ का अन्य ६ वटा घरमा समेत क्षती पुगेको प्रहरी चौकी देवदहका प्रमुख एक्कबहादुर नेपालीले जानकारी दिए । हावाहुरीका कारण वडा नं ५ मा समेत १२ वटा घरमा क्षती पुगेको नेपालीले बताए ।
नगरको वातावरण तथा विपद ब्यवस्थापन समितिका संयोजक खेमबहादुर थापाले क्षतीको विवरण प्राप्त हुने क्रम जारी रहेको जानकारी गराए । संयोजक थापाले छोटो समयमा आएको हावाहुरीबाट समेत ठुलो क्षती हुन गएकाले अव विपद ब्यवस्थापनको लागि नगरपालिका थप सचेत रहेको बताए । उनले शुक्रबार अपरान्ह सम्ममा समितिको बैठक बसेर राहतको घोषणा गर्ने र आगामी दिनमा बर्षात र हावाहुरीलाई मध्यनजर गर्दै विपद पूर्व तयारीका लागि थप योजना बनाउने जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology