देवदह । देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले आधुनिक र व्यवसायीका रुपमा गरिने कृषिबाट मात्रै कृषकको जीवन परिवर्तन हुन सक्ने बताएका छन् । परम्परागत कृषिबाट जीवन निर्वाह भएपनि कृषकको आयस्तर माथि उठाउन कृषिमा व्यवसायिकरण आवश्यक रहेको उनले बताए ।
देवदह क्षेत्र कृषिका लागि उर्वर भूमि भएपनि यसको सदुपयोग गर्न नसकिएको उनको भनाई छ । देवदहको खैरेनीमा आज आयोजित दोश्रो मकै महोत्सव २०८१ को अवसरमा बोल्दै उनले कृषियोग्य वडाहरूलाई पकेट क्षेत्रको रुपमा विकास गर्दै अगाडि बढ्ने बताए । उनले यस क्षेत्रमा उत्पादित मकैलाई विविधिकरण गर्न आवश्यक रहेको समेत औंल्याए । नगर प्रमुख खरेलले देवदह क्षेत्रमा उत्पादित मकैको बजारीकरणको लागि नगरपालिकाले सहजीकरण गर्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले कृषि उत्पादनलाई वृद्धि गर्न नगरपालिकाले किसानलाई अनुदानको व्यवस्था गर्ने गरी योजना अगाडि बढाएको बताइन् । उनले जग्गा बाँझो रहने समयमा मकै खेती शुरु गरेर मकै पकेट क्षेत्रको रुपमा देवदहलाई अगाडि बढाइएको उल्लेख गरिन् । उपप्रमुख गुरुङले सबै देवदहवासी व्यवसायीक हुनु पर्छ भन्दै कृषकहरूलाई रासायनिक र जैविक मल उपलब्ध गराउने गरी आगामी वर्ष योजना निर्माण गर्न लागेको जानकारी गराइन् ।
मकै महोत्सव मूल समितिका अध्यक्ष प्रमिला सेढाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रकाश अर्याल, राष्ट्रिय सहकारी महासंघका टिका गौतम, नेपाली कांग्रेसका वासुदेव रिमाल, नगर प्रवक्ता गणेश डुम्रे लगायतले बोल्दै देवदहका कृषकहरू मकै उत्पादन तर्फ अग्रसर भएकोमा खुसी व्यक्त गरे । मकै महोत्सव मूल समारोह समितिको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा देवदहलाई मकैमा आत्मनिर्भर बनाउने र उत्पादित मकैको बजारीकरण गर्ने गरी मकै महोत्सव आयोजना गरिएको हो ।
“देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरणमा हाम्रो अभियान” भन्ने नाराका साथ गरिएको महोत्सवमा मकैबाट बनेका २० भन्दा बढि परिकार बिक्रीका लागि राखिएको थियो । जसलाई कार्यक्रममा सहभागिले निकै रुचाएको देखिन्थ्यो ।
देवदह नगर क्षेत्रमा अहिले ५२ बिगाहा क्षेत्रफलमा मकैको खेती गरिदै आएको छ । देवदह नगरपालिकाले देवदह–५, कोलुवालाई मकै पकेट क्षेत्रको रुपमा घोषणा गरेर अगाडि बढिरहेको छ ।
सोही कार्यक्रममा देवदह क्षेत्रका १ सय ८० जना कृषकलाई कृषि औजार सहित सम्मान गरिएको छ । मकै महोत्सव मूल समितिका उपाध्यक्ष लक्षु न्यौपानेको स्वागत र सचिव चक्रपाणी न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology