राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न गण्डकी प्रदेश सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताए ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेश सरकारको सहकार्यमा आज आयोजित संसदीय पत्रकार अभिमुखिकरण एवम् अन्तरकृया कार्यक्रममा उनले सञ्चार क्षेत्र सम्वद्ध सवैसंग पटक पटक छलफल गरि विधेयकलाई निष्कर्षमा पु¥याइएको बताए । समाजलाई सकारात्मक सोचमा अघि बढाउन पनि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गदै उनले संसदीय गतिविधिलाई प्रभावकारी वनाउनका लागि पनि सञ्चार क्षेत्रबाट धेरै अपेक्षा गरिएको बताए ।
पछिल्लो समयमा सामाजिक सञ्जालले समग्र सञ्चार क्षेत्रको भूमिकालाई प्रभाव पारि रहेको बताउँदै उनले यसका लागि सिंगो सञ्चार क्षेत्र जिम्मेवार बन्नु पर्ने आवश्यकता औल्याए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् प्रतिपक्षिदलका नेता खगराज अधिकारीले सञ्चार क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
राजनैतिक दल र सञ्चार क्षेत्र विच राम्रो सहकार्य हुन सकेमा त्यसले समग्ररुपमा दल र व्यवस्थालाई मजवुद र जिम्मेवार बनाउन भूमिका खेल्ने उनको विश्वास थियो । नेकपा( माओवादी केन्द्र) संसदीय दलका उपनेता तथा पूर्वमन्त्री शुशिला सिंखडाले सत्य तथ्य समाचार सम्प्रेषणका माध्येमबाट पत्रकारिता क्षेत्रले समाजलाई शुसुचित गराउनु पर्ने आवश्यकता औल्याए ।
संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाले संसदीय पत्रकारितालाई प्रभावकारी वनाउनका लागि मञ्चले यस किसिमका तालिम आयोजना गर्दै आएको जानकारी दिए । वरिष्ठ पत्रकार रामजी दाहाल, पूर्व प्रदेश सभा सदस्यव्दय विष्णुप्रसाद लामिछाने र धनञ्जय दवाडी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका उपसचिव प्रविण ढकाल,प्रदेश सभा सचिवालयका सुचना अधिकारी प्रेम सुवेदी लगायतले प्रशिक्षण दिएका छन ।
तालिममा पोखरामा संसदीय रिपोटिङ गर्दै आएका लगभग ५० जना पत्रकारको सहभागिता रहेको संसदीय पत्रकार मञ्च गण्डकीका कोषाध्यक्ष उमा आलेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology