राजेश पराजुली, पोखरा । स्याङ्जामा अविरल बर्षाका कारण गएको पहिरोमा परेर चार वटा घर भत्किएका छन् । साथै दुई वटा गोठ भत्किएको स्याङ्जा प्रहरीले जानकारी दिएको छ ।
स्याङ्जा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार विरुवामा तीन वटा र पुतलीबजारमा एउटा घर भत्किएको हो । विहानको समयमा पहिरो गएका कारण मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।
प्रवक्ता रानाका अनुसार स्याङ्जाको वालिङ १ रामबाच्छाका तेकबहादुर विकको गोठ भत्कँदा दुई वटा बाख्रा मरेका छन् भने गल्याङ नगरपालिका वडा नम्बर ७ देवीस्थानकी मिना थापाको गोठ भत्कँदा एउटा दुहुनो भैंसी र पाडो मरेको छ ।
स्याङ्जा स्थित सिद्धार्थ राजमार्गको विभिन्न १५ स्थानमा सानाठूला पहिरो गएका र बाटो खुलाउने क्रम जारी रहेको उनले बताए । त्यसैगरी स्याङजाको लाइफलाईन मानिने आँधीखोलामा पानीको बहाव उच्च रहेकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन ।
अन्य थप विवरण आउने क्रम जारी रहेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology