देवदह । बुटवल-नारायणगढ सडकखण्ड अन्तरगत देवदह क्षेत्रको १२ किलोमिटर सडक बर्षायाममा हिड्न मिल्ने गरी स्तरीय ग्रावेल गर्ने सम्झौता कार्यान्वयन भएन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहवरमा देवदह नगरपालिका र चाईना स्ट्रेट कम्पनीबीच असार १२ गते १५ दिनभित्र सडक बनाउने निर्णय कार्यान्वयन नभएको हो ।
नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानासहितको उपस्थितिमा भएको सम्झौता अनुसार सडक निर्माण नभएपछि अब के हुन्छ भन्ने अन्यौलता देखिएको छ । पटकपटक सम्झौता गर्ने तर कार्यान्वयन नहुने भएपछि स्थानीयहरू आक्रोशित बनेका छन् । राज्यका निकायहरूको कुरा गर्ने तर काम नगर्ने प्रबृत्तिले नागरिक आजित भएको भन्दै सामाजिक संजालमा स्थानीय युवाहरूले निरन्तर असन्तुष्टि जनाउंदै आएका हुन् ।
सामाजिक संजालमा लेख्दै स्थानीय युवा गोविन्द शर्माले यस्तो हरिविजोक बाटोको कारण जनताले कहिलेसम्म सास्ती व्यहोर्नु पर्ने हो भन्दै प्रश्न गरेका छन् । एक हप्तामा बाटो बन्छ भनेको पनि महिनौं बितेको तर सडक नबनेकोप्रति उनको गुनासो छ । त्यस्तै अर्का स्थानीय जग छन्त्यालले भनेका छन्, "बाटोको अवस्था यति विग्रेको छ कि हिलाम्य बाटोमा अहिले धान रोप्यो भने निर्माण सम्पन्न हुनु अघि नै धान पाकिसक्छ ।"
यता सम्झौता अवधि सकियो तर सडक त बनेन नि भन्ने सेतोमसीको प्रश्नमा देवदह नगर प्रवक्ता गणेश डुम्रेले विद्युत तारको समस्याको कारण समयमै काम गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको बताए । "पटक पटक ताकेता गर्दा समेत बजार क्षेत्रमा विद्युतको तार र पोल सार्ने कार्य अपेक्षित गतिमा अघि बढेन" प्रवक्ता डुम्रेले भने, "विद्युतको तार र पोल व्यवस्थापनको जिम्मा लिएको स्थानीय ठेकेदारले नै गम्भीर रूपमा काम नगरेको कम्पनीको आरोप छ । नगरपालिकाले सबै पक्षलाई दवाब दिने कार्यलाई निरन्तरता दिएको छ र दिन्छ ।"
कतिपय पिच गरिएको स्थानमा बाटो ब्लक गरिएको र बनेको बाटो समेत नागरिकले प्रयोग गर्न नपाएको देखियो नि ? भन्ने प्रश्नमा प्रवक्ता डुम्रेले त्यसप्रकारका अवरोधक हटाउने र बनेको सडकलाई सहज तरिकाले प्रयोग गर्ने वातावरण नगरपालिकाले मिलाउने प्रतिबद्धता जनाए ।
देवदह नगरपालिका र चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ्ग कर्पोरशनबीच गत पौषमा ४ मा ३ महिनाभित्र एकतर्फी सडक निर्माण गर्नेगरि नदिजन्य पदार्थको खरिद विक्री सम्झौता भएको थियो । जसअनुसार नगरपालिकाले देवदहका विभिन्न खोलाबाट तीन करोड १५ लाख बढी मूल्यको नदिजन्य पदार्थ उत्खनन गर्न चाइना स्टेट कन्सट्रक्सनलाई अनुमती दिएको थियो । यद्यपी सम्झौता भएको करिब ७ महिना पुरा हुँदा समेत कम्पनीले सम्झौता बमोजिम सडक निर्माण नगरेपछि १७ दिन अघि दोस्रो पटक सम्झौता भएको थियो । जुन कार्यान्वयन भएन ।
यसबिचमा बुटवल-खैरेनी सडकखण्डको डाइभर्सनमा खसेर देवदहका ३ जना युवकको ज्यान गएको छ । असुरक्षित सडककै कारण यस क्षेत्रमा दिनानुदिन दुर्घटना हुने गरेका छन् । सडकको विच भागमै यात्रीवाहक वस र मालवाहक ट्रकसमेत फस्ने गरेका दृश्य देखिने गरेका छन् । यसै सडकको कारण देवदह नगरपालिकाको १४ औं नगरसभा चलिरहेको अवस्थामा समेत स्थानीय व्यवसायीले सभामै अवरोध गरेर विरोध जनाएका थिए ।
वि सं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी सडक निर्माणका लागि चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले वि.सं २०७५ माघ २४ मा सम्झौता गरेको थियो । विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा पटकपटक म्याद थपिए पनि उल्लेख्य काम हुन सकेको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology