देवदह । देवदह नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सरसफाईको जिम्मेवारी सम्झाएको छ । मंगलबार सूचना जारी गर्दै नगरपालिकाले यहाँका १५ वटा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई खानेपानी तथा सरसफाई ऐनमा भएको व्यवस्थाबारे जानकारी गराएको हो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाद्वारा जारी सूचनामा खानेपानी तथा सरसफाई ऐन, २०७९ अनुसार खानेपानी सेवाका अतिरिक्त सरसफाई पनि मुख्य जिम्मेवारीभित्र रहनेबारे खानेपानी संस्थालाई स्मरण गराइएको छ । यसका साथै हरेक संगठित संस्थाले समुदायप्रति चासो राखेर कार्यसम्पादन गर्नुपर्ने र सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने अभ्यास र नीतिगत व्यवस्था रहेको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ "फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोरको स्रोतमा नै वर्गिकरण गर्ने गरी व्यवस्था गरेको छ । यसका साथै हरेक संगठित संस्थाले समुदायप्रति चासो राखेर कार्यसम्पादन गर्नुपर्ने र सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) बहन गर्नुपर्ने संगठित संस्थाको अभ्यास र नीतिगत व्यवस्था नै रहेको छ ।"
नगरपालिकाभित्रको फोहोरको व्यवस्थापन गरी पूर्ण सरसफाईयुक्त नगरपालिका घोषणा गर्ने र दिगोपना कायम गर्ने सबैको साझा दायित्व रहेकोले घरबाट निस्कने फोहोरमध्ये कुहिने, नकुहिने र सिसाजन्य अलग अलग वर्गिकरण गरी कुहिने फोहोरबाट मल बनाउने, नकुहिने फोहोर विक्री गर्ने र शेष फोहोर मात्र नगरपालिकाको फोहोर ढुवानी गर्ने साधनमा पठाउने गरी प्रवन्ध मिलाउन नगरपालिकाको अनुरोध छ ।
१३५.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको देवदह नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ७२ हजार ४५७ जनसंख्या रहेको छ । यहाँ १७ हजार ३०० घर धुरी रहेका छन् । जसमा ९ हजार ३५० घरमा खानेपानीको धारा जडान भएका छन् ।

सेतोमसीसंग कुरा गर्दै यहाँको सबैभन्दा ठूलो संस्था देवदह खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गुमानसिङ कुँवरले नगरपालिकाले योजनासहित काम गराएमा आफूहरू काम गर्न तयार रहेको बताए । उनले भने "पत्र आएको छ, उपभोक्तालाई सूचना गर्ने, बिलको पछाडि थप सूचना राख्नेजस्ता काम त गर्न सकिन्छ तर योजनासहित नै आएको भए अझै प्रभावकारी हुन्थ्यो भन्ने लाग्छ ।"
देवदहका ५ हजार २०० घरमा देवदह खानेपानी तथा सरसफाई संस्थाका धारा जडान छन् ।
स्मरण रहोस्, नगरपालिकाले फोहोर व्यवस्थापनलाई महत्व नदिएको र व्यवस्थित नगरेको कारण डम्पिङ्ग साइट वरिपरि दुर्गन्ध फैलिएको भन्दै बुद्ध समुदायिक वनले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएपछि नगरपालिकाले यसलाई प्राथमिकतामा राखेको छ । यस अघि नै यहाँ रहेका सहकारीहरूलाई समेत आफ्ना शेयर सदस्यलाई फोहोर वर्गीकरण गर्ने बारे सचेत गराउँन बैठक नै राखेर नगरपालिकाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology