Logo

२०८३, आश्विन ९गते


images
images

लगानी शून्य, आम्दानी मनग्ये

लगानी शून्य, आम्दानी मनग्ये

images
  • लगानी शून्य, आम्दानी मनग्ये
    images
    images

     गुल्मी -आम्दानीको लागि लगानी गर्नु स्वभाविक नै हो । लगानी अनुसार आम्दानी पनि हुन्छ । थोरै लगानीले थोरै आम्दानी हुन्छ । धेरै लगानीले धेरै आम्दानी हुन्छ । लगानी बिना आम्दानी भन्दा अचम्म लाग्ने गर्दछ । तर, गुल्मीमा शुन्य लगानीले मनग्य आम्दानी गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खबाङ्गका कृषकहरुले लगानी नै नगरी थुप्रै आम्दानी गर्दै आएको कृषक खिमराज रेग्मीले बताए ।
     
    अर्खबाङ्गका कृषकहरुले आलु खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । धेरै पहिले लगाएको आलुबाट वर्षेनी आलु उत्पादन गर्दै आएको त्यहाँका कृषकहरुले बताउँछन् । आफ्नो पुख्यौली तथा मुख्य पेशा आलु खेती भएको कृषक रेग्मीले बताए । “पुर्खादेखि नै यसरी आलु खेती भइरहेको छ ।” कृषक रेग्मीले भने, “हामीले लगानी गर्नुपर्दैन, मकैको बिउ रोप्दा खनिएको बारीबाट पनि आलु उत्पादन हुन्छ अनि त्यति खेर रहेको आलुबाट फेरि कोदो रोप्दा उत्पादन भएको आलु निकालिन्छ ।” विगत धेरै वर्षदेखि आफुहरुले आलुको बिउ रोप्न नपरेको अनुभव सुनाउँदै रेग्मीले अन्य बाली उत्पादन गर्दा बारीमा राखिएको मलले आलु धेरै राम्रो उत्पादन हुने बताए ।
     
    अर्खबाङ्गका कृषकहरुले वार्षिक रुपमा प्रत्येक घरमा २० देखि ६० मुरीसम्म बिना लगानीमा आलु उत्पादन गर्दै आएका छन् । १ मुरीमा २० पाथी आलु हुन्छ । १ पाथी बराबर ३ किलोग्राम आलु हुन्छ । अन्य प्रकारका कृषि बालीको उत्पादन गर्ने क्रममा निरन्तर फलिरहने यो आलुले लगानी बिना मनग्य आम्दानी भएको युवा कृषक राजेन्द्र रेग्मीले बताए । “हजुरबुबा र हजुरआमाको पालादेखि नै यसरी आलु उत्पादन भइरहेको छ ।” कृषक राजेन्द्रले भने, “लगानी तथा खर्च छैन, अन्य बाली उत्पादन गर्दा गाउँघरमा भएको मल प्रयोग गरेपछि आलु पनि राम्रो उत्पादन हुन्छ ।” आफ्नो घरमा मात्रै वार्षिक ५० देखि ६० मुरी आलु उत्पादन हुने कृषक राजेन्द्रले बताए । अहिले भने, मौसमका कारण केही कम उत्पादन भएको उनले गुनासो पोखे ।  अर्खबाङ्ग कै अर्की कृषक तुल्सा उपाध्यायले कुनै मेहनत नगरी आलु उत्पादन हुदाँ आफुहरु उत्साहित हुने बताइन् । कोदो रोप्ने समयमा उत्पादित आलु निकाल्दै गरेकी कृषक उपाध्यायले प्रत्येक वर्ष २० देखि २५ मुरी आलु उत्पादन हुने अनुभव आफुसँग भएको सुनाइँन् ।

    images
    images
    images

    चक्रिय रुपमा आलु उत्पादन हुने यस क्षेत्रमा कैयौँ वर्ष अगाडी लगाएको आलुको बिउबाट उत्पादनको चक्र चलिरहेको छ । साउनमा कोदो रोप्दा उत्पादित आलु निकालेपछि बारीमा रहेको आलु माघमा बारी खनजोत गर्दा नयाँ दाना निकालिन्छ । पुरानो बिउ जस्ताको त्यस्तै बारीमा छाडेपछि त्यसबाट साउनमा फेरि आलु उत्पादन हुने गर्दछ । यो आलु उत्पादनको चक्रिय प्रक्रिया पुर्खादेखि नै चलिरहेको छ । जसमा नयाँ बिउ आलु लगाउनु पर्दैन् । यो प्रक्रिया निरन्तर चल्ने कृषकहरुले बताउँछन् । यो चक्रिय रुपमा उत्पादित आलुलाई मौसमले खासै असर नगर्ने कृषकहरुको भनाई छ ।

    images
    images
    images

    आलु चिसो हावापानी रुचाउने बाली हो । अर्खबाङ्गको मौसम पनि चिसो छ । यहाँको भेग हिमालतर्फ फर्किएको छ । अर्खबाङ्गमा कालोसहित दोमठ वा बलौटे दोमठ माटो रहेको छ । जून आलुखेतीका लागि एकदम उपयुक्त रहेको कृषकहरु बताउँछन् । बिशेष गरी सेतोमा लामो र डल्ले आलुको उत्पादन हुदै आएको छ । त्यस्तै रातो आलु र अहिले नयाँ प्रकारको जनकदेव नामक निलो रँग भएको आलु उत्पादन हुदै आएको अर्खबाङ्गका स्थानीय कपिल रेग्मीले बताए ।

    images
    images
    images

    मालिका गाउँपालिकाले पनि अर्खबाङ्ग क्षेत्रलाई आलु जोनको रुपमा अगाडी बढाएको छ । प्रदेश सरकारको लागत साझेदारीमा नयाँ बिउ लगाउन चाहाने कृषकलाई आलुको बिउ दिनुका साथै उत्पादित आलुलाई बजारीकरण गर्न सहयोग गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

    अर्खबाङ्गमा आलु किन्न नजिकको घमिर, अर्जै, छापहिले, इस्मा, मदाने लगायतका गाउँहरुबाट कृषकको घरमै पुग्छन् । साथै आलु जिल्लाको सदरमुकाम तम्घासमा पनि बिक्री हुदै आएको छ । कृषकहरुले उत्पादित आलु धानसँग पनि साट्ने गर्दछन् । अर्खबाङ्गबाट आलु मौसमअनुसार प्रति पाथी १ सय २० रुपैँया देखि २ सय रुपैँयासम्ममा बिक्री हुने गर्दछ । त्यस ठाउँमा उत्पादित आलुको बजारीकरणका लागि अनुदान सहयोगमा लेकाली आलु चिप्स उद्योग पनि संचालन भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।