Logo

२०८३, श्रावण ३०गते


images
images

आलेख

गजल भनेपछि गजल नै लेखौं !

गजल भनेपछि गजल नै लेखौं !

images
  • सेतोमसी सहकर्मी
  • गजल भनेपछि गजल नै लेखौं !
    images
    images

    सकिन्छ भने सदैव उत्कृष्ट गजल लेख्ने कोशिश गरौँ । सकिदैन भने सदैव उत्कृष्ट गजल लेखिरहेका गजलकारका गजलहरु ध्यान दिएर सुनौ । ध्यान दिएर पढौ । तर उत्कृष्ट गजल लेखेरै चर्चाको शिखर चुम्न सफल भएका सिद्वहस्त गजलकारहरुको रिस चाहिँ कहिल्यै पनि नगरौँ । रीसले आफैंलाई खान्छ , बुद्धिविवेकले मात्रै अर्कोलाई आफ्नो काबुमा ल्याउन सकिन्छ । त्यसैले , बाकी अरु सबै कुराहरुलाई छोडौ । सबैभन्दा पहिले गजल जस्तै गजल लेखौ । गजल भन्ने नाम दिएर लेखिएको कुरा अरु विधा जस्तो कदापि नहोस् । 

    images
    images
    images


    सम्भव भएसम्म त ठ्याक्कै गजल नै होस् । ठ्याक्कै गजल नै हुन नसकिरहेको अवस्थामा कम्तिमा पनि गजल जस्तै त जरुर होस् । आधुनिक नेपाली गजल अभियानको अपेक्षा यही नै रहेकोे छ । र , यही नै रहनेछ जहिले पनि । किनभने हामीले सदैव आधुनिक नेपाली गजल लेखनको सन्दर्भमा स्तरीयताको अपेक्षा गरिरहेका हुन्छौं । गजल लेखनको आधारभुत संरचनात्मक स्वरुप अर्थात मूल्य - मान्यतासहितको लेखकीय शक्ति र क्षमतामा विश्वास गर्दछौँ । पुर्व निर्धारित अमुक सिद्धान्त अनुसार गरिने कोरा बोक्रे रचना होइन कि सर्वोत्कृष्ट सिर्जना अनुसार सैद्धान्तिक परम्पराको क्रमशः निर्माण हुँदै जाने हो भन्ने कुरामा हामी सदैव विश्वस्त रहेका छौँ । सैद्धान्तिक परम्परालाई आँखा चिम्लेर पछ्याउँदै कनिकुथी बोक्रे रचना गर्ने र त्यही बोक्रे रचनालाई नै नम्बरी गजल हो भनेर मख्ख पर्दै उहिलेदेखि अहिलेसम्म पनि लिडे ढिपी कसेर बसिरहेका केही तथाकथित स्वघोषित गजलकार भनाउदाहरुलाई हाम्रो भन्नू केही पनि छैन ।

    images
    images
    images


    नेपाली गजलको पुनर्जागरण आधुनिक नेपाली गजल लेखनमा क्रियाशील अग्रज पुस्ताका आदरणीय गजलकार व्यक्तित्वहरुद्वारा गरिएको थियोे । आधुनिक नेपाली गजल लेखनमा क्रियाशील अग्रज पुस्ताका आदरणीय गजलकार व्यक्तित्वहरुको महत्त्वपूर्ण योगदानकै कारण आधुनिक नेपाली गजल यतिबेला चरम लोकप्रियताको यो उचाइमा पुग्न सफल भएको हो भन्ने कुरा उल्लेख गरिरहनु पर्दैन ।

    images
    images
    images


    एउटै गजलभित्र थुप्रै कविताको कलात्मक भाव अनि मुक्तकको मुक्तकीय मिठाससङ्गै गीतको गतिशील अर्गानिक स्वाद यदि पाइन्छ भने त्यो आधुनिक नेपाली गजलमै पाइन्छ भन्ने कुरा पनि दोहोर्याइरहनु पर्दैन होला शायद !
    नेपाली साहित्यमा स्थापित अरु विधाहरुकै हाराहारीमा गजल विधाले आफुलाई उभ्याएर आफ्नो विधागत हैसियत स्थापित गर्न सफल भएको पनि आधुनिक नेपाली गजल लेखन - यात्राको शुरुवात भएपछि मात्रै हो भन्ने यथार्थ तपाईं - हामी सबैलाई थाहा भएकै सन्दर्भ हो । 


    यतिबेला स्वदेशभित्र र बाहिर जहाँसुकै साहित्यिक कार्यक्रमको सन्दर्भमा एकल र विशेष वाचनको क्रममा सबैभन्दा बढी खोजी आधुनिक नेपाली गजल र गजलकारहरुकै हुने गरेको छ । आधुनिक नेपाली गजल लेखनमा क्रियाशील गजलकारहरूद्वारा लेखिएका आधुनिक नेपाली गजलहरु नै " हिट " भैरहेको अवस्था हो - यतिबेला । साङ्गीतिक गजलको कुरा गर्ने हो भने पनि आधुनिक नेपाली गजलहरु नै " सुपरहिट " भैरहेको अवस्था हो - अहिलेसम्म । स्तरीय साहित्यिक पत्रपत्रिकाहरु पल्टाएर हेर्ने हो भने त्यहाँभित्र सबैभन्दा बढी आधुनिक नेपाली गजलकारका उत्कृष्ट गजलहरु नै समावेश भइरहेको देखिन्छ । अनलाइन पत्रिकाहरुको सन्दर्भमा कुरा गर्ने हो भने त्यहाँ पनि सबैभन्दा बढी आधुनिक नेपाली गजलकारका उत्कृष्ट गजलहरुले स्थान पाइरहेको देखिन्छ । संयुक्त रूपमा प्रकाशित भएका सङ्ग्रहहरुको कुरा गर्ने हो भने पनि आधुनिक नेपाली गजलहरु समावेश गरिएका संयुक्त सङ्ग्रहहरुकै संख्या अधिक देखिन्छ । एकल रूपमा प्रकाशित सङ्ग्रहको कुरा गर्ने हो भने पनि सबैभन्दा बढी सङ्ग्रहहरु आधुनिक नेपाली गजलहरुकै रहेको छ ।


    केही अपवाद बाहेक आधुनिक नेपाली गजल लेखन साच्चिकै शक्तिशाली रहेको छ भन्ने यथार्थ पनि तपाईं - हामी सबैलाई थाहा भएकै कुरा हो ।


    गजल शब्द कसैको बाउको बिर्ता होइन । गजल शब्द कसैकी आमाको निजी पेवा होइन । गजल शब्द कसैको निजी बपौती होइन । गजल शब्दमा कोही कसैको पनि एकाधिकार कदापि हुनै सक्दैन । केवल कुनै एउटा अमुक शास्त्रीय छन्दमा बाधिएर लेखिएको छ भन्दैमा जस्तोसुकै सिकारु पाराको भए तापनि उक्त काइते रचना स्वत : गजल हुने अनि आधुनिक नेपाली मौलिक लय र शिल्प - शैलीमा लेखिएको छ भन्दैमा उक्त रचना साच्चिकै दमदार र शक्तिशाली हुँदाहुँदै पनि गजल नहुने भन्नेजस्तो हावादारी बकम्फुसे कुतर्क साच्चिकै अतिवादी सोच बाहेक अरु बढी केही पनि हुँदै होइन । यो उनीहरूको आधुनिक नेपाली गजलको चरम लोकप्रियताप्रतिको कुण्ठित भावना हो । आधुनिक नेपाली गजल लेखेरै दिन दुगुना रात चौगुना भनेजस्तै गरि बटुलिरहेको वाहवाहीसङ्गै नाम र दाम समेत कमाइरहेका सिद्वहस्त गजलकारहरुप्रतिको रीस , ईष्र्या र डाहा हो ।
    यस्तो अतिवादी सोचाइ भएकाहरु जोसुकै किन नहुन् अनि जुनसुकै पुस्ताका किन नहुन् , उनीहरू नेपाली गजल विधाका लागि साच्चिकै खतरनाक दुश्मन हुन् । त्यसैले नेपाली गजल विधाका त्यस्ता दुश्मनहरुबाट सदैव नेपाली गजल विधालाई जोगाउदै जीवन्ततासहित निरन्तर रूपमा अगाडि बढाउनु परेको छ । कसैले अमुक शास्त्रीय छन्दमा बाधिएर काइते गजल लेखिरहेको छ भन्दैमा आधुनिक नेपाली मौलिक लय र शिल्प - शैलीमा लेखिएका सर्वोत्कृष्ट गजलहरुलाई गजल हुँदै होइन भन्ने अधिकार अहिले आएर उनीहरुलाई कसले दियो ? गजल शब्दको अग्राधिकार उनीहरुलाई कसले दियो ?


    आधुनिक नेपाली गजल अभियान नेपाली साहित्यको कुनै पनि विधाको विरोध गर्ने प्रयोजनका लागि शुरु गरिएको हुँदै - होइन । कसैसँगको व्यक्तिगत लडाइँको लागि गरिएको तयारी पनि होइन । हाम्रो आफ्नै सर्वाधिक प्रिय विधा र कलमको अस्तित्वको रक्षाका निमित्त शुरु गरिएको अभियान हो । कसैको व्यक्तिगत विचार फरक पनि हुनसक्छ । अनावश्यक हल्लाखल्ला र कोही कसैले गरेका अरे ! का कुरा सुनेर त्यसैको पछाडि तपाईं हामी कदापि लाग्नु हुँदैन । 


    सहृदयी सिर्जनशील प्रिय सम्पूर्ण गजलकार मनहरु ! 

    आधुनिक नेपाली गजल लेखनको यो राष्ट्रिय महा - अभियानको सन्दर्भमा तपाईंहरुको साथ , सहयोगसङ्गै महत्त्वपूर्ण सल्लाह र उचित सुझावको हामीलाई सदैव खाचो परिरहेको हुनेछ । तपाईंहरुले दिनुभएको साथ र सहयोगलाई हामीले कदापि बिर्सिने छैनौं । तपाईंहरुको महत्त्वपूर्ण सल्लाह र उचित सुझावलाई सदैव मनन् गर्नेछौं । उच्च कदर गर्नेछौं । आधुनिक नेपाली गजल लेखनमा क्रियाशील भएर लागिरहनु भएका सहृदयी सिर्जनशील सम्पूर्ण गजलकार व्यक्तित्वहरुलाई सम्मानपुर्वक समेट्दै सबै एकजुट भएर अगाडि बढ्नैपर्ने जरुरी देखिएको छ - यतिबेला । आधुनिक नेपाली गजल लेखनको गतिलाई अझै तीव्रताका साथ निरन्तर रूपमा अगाडि बढाउदै लैजाने विशेष महत्त्वपूर्ण जिम्मेवारीको गह्रुङ्गो भारी बोकाइदिएको छ समयले तपाईं - हाम्रो काधमा । तसर्थ यो सन्दर्भमा यतिबेला तपाईं - हामी सबैले आफ्नो स्वविवेकको प्रयोग गर्नैपर्ने जरुरी देखिन्छ । यदि तपाईंले अहिलेसम्म आधुनिक नेपाली गजल लेखनमा आफ्नो कलम चलाइरहनु भएको छ भने यो सन्दर्भमा अगाडि देखिएर आफ्नो मनमा लागिरहेको यथार्थ कुरा खुलस्त रूपमा राख्नुहुनेछ भन्ने हामीले अपेक्षा गरिरहेका छौँ । आधुनिक नेपाली गजल अभियानको सन्दर्भमा तपाईंको आफ्नो मनमा लागिरहेको यथार्थ कुरा खुलेर जस्ताको तस्तै सार्वजनिक गर्ने क्रममा कुनै अफ्ठ्यारो नमान्नुहोस् भन्ने हाम्रो अनुरोध पनि हो ।


    यतिबेला संसारको जुनसुकै कुनामा रहनु भएको भए पनि आधुनिक नेपाली गजल लेखनमा अहिलेसम्म क्रियाशील भैरहनु भएका तपाईंहरु सबैजना कृपया हाम्रो सम्पर्कमा आउनुहोस् भन्ने हार्दिक अनुरोध समेत गर्दछौं । हामी यतिबेला तपाईंहरुको विचार बुझ्दै तपाईंहरुको आवश्यक सल्लाहसङ्गै उचित सुझाव र साथ - समर्थनको अभियानमा जुटिरहेका छौँ । तपाईंहरुको साथ र नैतिक समर्थनसहित एक - आपसमा हातेमालो गर्दै अगाडि बढ्नको लागि तपाईंहरुसङ्ग विनम्र अनुरोध गर्दछौँ ।


    आधुनिक नेपाली गजल अभियानलाई अझै व्यवस्थित र थप प्रभावकारी बनाउदै सशक्त रूपमा अगाडि बढाउने सन्दर्भमा जिल्ला समितिहरु पनि गठन गर्ने पुर्व तयारीमा लागिरहेका छौँ ।


    आधुनिक नेपाली गजलको संरक्षण र सम्बर्द्धनका लागि आधुनिक नेपाली गजल लेखनमा निरन्तर रूपमा क्रियाशील सहृदयी सिर्जनशील सम्पूर्ण गजलकारहरू एकजुट भएर एउटा साझा मञ्च खडा गर्ने उद्देश्यका साथ हामीले तपाईहरूको साथ - सहयोग र समर्थन चाहेका छौँ । आधुनिक नेपाली गजल नै नेपाली माटोका गजल हुन् भन्ने कुरालाई मनन् गर्दै तपाईं - हामी एक - आपसमा मिलेर हातेमालो गर्दै एउटा साझा धारणा बनाउन जरुरी भइसकेको यो अवस्थामा मिलेर सहकार्य गर्नुको कुनै विकल्प नरहेको कुरा समेत अवगत गराउँदछौँ ।


    हामीले ७७ वटै जिल्लामा विशेष अभियान चलाएर जिल्लागत रुपमा समेत सङ्गठित हुँदै अगाडि बढ्ने तयारी अनुसार काम गरिरहेका छौँ । सामाजिक सञ्जाललाई माध्यम बनाएर आधुनिक नेपाली गजल लेखनको अर्थपूर्ण अभ्याससङ्ग सम्बन्धित पाठशाला संचालन गर्ने काम समेत शुरु गरिसकेका छौँ । नवोदित गजलकारहरुदेखि लिएर अग्रज पुस्ताका आदरणीय गजलकारहरुसम्म सहजै पुग्न सकिने किसिमको एउटा बलियो पुलको निर्माण गर्ने सोचाइ अनुसार अगाडि बढिरहेका छौँ । यसले आधुनिक नेपाली गजल लेखनको स्तर उन्नतिको दायरालाई अझै थप फराकिलो बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ । 


    अनुशासन पनि आधुनिक नेपाली गजलको एउटा विशेष महत्त्वपूर्ण पाटो हो भन्ने कुरालाई सदैव मनन् गर्दै यस अभियानलाई नकारात्मक प्रभाव पार्ने गरि कुनै पनि अनावश्यक वादविवादमा आधुनिक नेपाली गजल अभियानसङ्ग सम्बन्धित गजलकार साथीहरु कोही पनि संलग्न नभइदिनुहुन समेत हामीले हार्दिक अनुरोध गर्दछौँ । आधुनिक नेपाली गजल लेखनमा क्रियाशील रहेर निरन्तर रूपमा अहिलेसम्म लागिरहनु भएका तपाईं - हामी सम्पूर्ण सहृदयी सिर्जनशील गजलप्रेमी पाठक र गजलकारहरू सङ्गठित हुने लक्ष्य अनुसार निरन्तर अगाडि बढिरहेका छौँ । यही अभियानका लागि सातै प्रदेशमा प्रदेश प्रतिनिधिहरु र विभिन्न जिल्लामा जिल्ला प्रतिनिधिहरु तोकिएको हो । त्यसैले तपाईंहरु सबैलाई आ- आफ्नो प्रदेश प्रतिनिधि र जिल्ला प्रतिनिधिसँग नियमितरूपमा सम्पर्कमा रहेर आफ्ना विचारसहित साथ - सहयोग र समर्थन जनाई एकीकृत भइदिनु हुन हार्दिक अपिल गर्दछौं ।


    साथै हामीसँग प्रत्यक्ष - अप्रत्यक्ष रुपमा नजोडिनु भएका तर आधुनिक नेपाली गजल लेखनमा क्रियाशील रहिरहनु भएका गजलकार व्यक्तित्वहरु पनि धेरैजना हुनुहुन्छ । उहाँहरुसम्म यो अभियानको सन्देश पुर्‍याएर उहाँहरु सबैलाई सकेसम्म छिटो आधुनिक नेपाली गजल अभियानमा जोड्ने सन्दर्भका लागि सहृदयी सिर्जनशील आधुनिक नेपाली गजलकार व्यक्तित्वहरुमा यो विशेष महत्त्वपूर्ण भुमिका पनि कुशलतापुर्वक बहन गरिदिनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हार्दिक अनुरोध गर्दछौं ।
    धन्यवाद !


    जय आधुनिक नेपाली गजल अभियान !


    लेखक: मिलन समीर, स्याङ्जा


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिलन समीर
  • # गजल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।