काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट बिद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरेका नेता माधव कुमार नेपालको पक्षमा खुल्ने एमाले नेताहरू संख्या दिनानुदिन बढ्दै गएको छ । मंगलबार मात्रै एमालेका तीन जना संघीय संसदका सांसद र एक केन्द्रीय सदस्य एकीकृत समाजवादीको पक्षमा उभिएका छन्।
बुधबार एमाले विभाजन भएर बन्न लागेको एकीकृत समाजवादीको पक्षमा उभिन प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली र राष्ट्रियसभाका सदस्य सारदादेवी भट्ट निर्वाचन आयोग पुगेर निवेदन दिएका हुन्।
सरकारले केन्द्रीय सदस्य वा संघीय संसदका २० प्रतिशत सदस्यले दल विभाजन गर्न पाउने गरी अध्यादेश ल्याएपछि भदौ २ गते माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठनका लागि आयोगमा निवेदन दिएका छन्।
उक्त निवेदनको पक्षमा सनाखत गराउन आयोगले बुधबार बोलाएको छ। पाण्डे, ज्ञवाली र भट्टले सनाखतमा सहभागी हुन पाउँ भनी निवेदन दिएको आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए।
त्यस्तै २ गतेको निवेदनमा सहभागी नभएका केन्द्रीय सदस्य राजन राईले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निवेदन दिएका छन्। यसअघि एकीकृत पार्टीको पक्षमा ५८ जना केन्द्रीय सदस्य र ३१ जना सांसदले आवेशन दिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology