भैरहवा । रुपन्देहीको भैरहवामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । ४ भारतीय सहित शुक्रबार पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
गत बिहीबार राति भैरहवाको एक होटलमा महिलामाथि जबरजस्ती करणी गर्नेहरुमा दुई जना नेपाली रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहरप्रसाद भट्टका अनुसार सिद्धार्थनगर–३, स्थित एक होटलमा भैरहवा–१४ नाम दिइएकी महिलामाथि बलात्कारको आरोपमा भारत महाराजगन्ज जिल्लाका ३७ वर्षीय अफरोज समी, सोही ठाउँका २७ वर्षीय सालु खान, ३१ वर्षीय अत्तर रजा र गोरखपुरका २७ वर्षीय बब्लु खानलाई पक्राउ गरिएको छ । त्यसैगरी रुपन्देहीको ओमसतीया–४, का ३२ वर्षीय सारुख तेली र अकबर खानलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी भट्टले बताए ।
भैरहवा–१४ ले आफू जबरजस्ती करणीमा परेको उल्लेख गरेर जाहेरी दर्ता गराएपछि आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई शुक्रबार नै जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको डीएसपी भट्टले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology