काठमाडौं । आसन्न उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले आजदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।
आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा सञ्चालित केन्द्रबाट आयोगका निर्णयको कार्यान्वयन अवस्था, आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षबारे नियमित रूपमा जानकारी लिई तत्कालै समस्या समाधान गरिने जनाइएको छ । निर्वाचन परिणाम घोषणा नभएसम्म केन्द्र सञ्चालनमा आउने आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन्।
आयोगका सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का, राष्ट्रिय अनुसन्धान विभागका सह-अनुसन्धान निर्देशक नरेशबहादुर शाह, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी तथा आयोगका उपसचिवद्वय दुर्गाप्रसाद चालिसे र डा थानेश्वर भुसाल केन्द्रको सदस्य रहेका छन् ।
यही मङ्सिर १६ गते आइतबार स्थानीय तहका रिक्त ४४ पदमा निर्वाचन हुँदैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology