पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछाने सहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ । प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति मागिने स्रोतले बतायो । त्यसैका लागि आज बिहान लामिछाने सहितलाई अदालत उपस्थित गराइएको हो ।
प्रतिनिधि सभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो । त्यसपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइएको थियो ।
त्यहीक्रममा छविलाल जोशीलाई ६ असोजमा प्रहरीले पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology