पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बेला आएपछि मात्रै बोल्ने बताएका छन्। जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न गरेको थुनछेक आदेशको पुनरावेदन माग गर्न उच्च अदालत पोखरा पुगेका लामिछानेले अहिले आफू बोल्ने बेला नभएको बताए।
उच्च अदालतको परिसरमा पोखरेली सञ्चारकर्मीले प्रश्न सोध्न थालेपछि आफूले भन्नु केही नरहेको सुनाए। ‘मेरो भन्नुपर्ने केही पनि छैन। कानुन व्यवसायीले भन्नुहोला। मैले बोल्ने बेला आएपछि बोलिहाल्छु चिन्ता नगर्नुहोला। अहिले मेरो भन्ने केही पनि छैन’, मुस्कानका साथ उनले थपे, ‘तपाईंहरु सबैलाई धेरै धेरै धन्यवाद। बेला आइहाल्छ नि बोल्ने। त्यतिखेर म नबोल भने पनि बोलुँला। अहिले मेरो बोल्ने बेला भा’को छैन।’
सञ्चारकर्मीले उनलाई थोरै केही त बोल्नु भन्दै कर गरे। त्यसपछि रविले आमनागरिकले जे बोलिरहेका छन् त्यो नै मेरो भनाइ हाे भने। ‘देशभरका नागरिकले जे बोलेका छन् त्यो जनताको अदालत छ। हवस त्यति मात्रै भन्छु समय आएपछि’, उनी बिदा भए।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो। रविलाई तोकेको धरौटी रकम बढी भएकाले साधारण तारेखमा रहेर मुद्वाको पुर्पक्ष गर्न पाऊँ भनेर जिकिरसहित निवेदन दर्ता गराएको रविका कानुन व्यवसायी रोहितराज बास्तोलाले बताए।
७३ नम्बरको निवेदन दर्ता गराएको उनको भनाइ छ। धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ। माघ ७ गते रवि लामिछानेलगायत सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत कास्कीले धरौटीमा छाडेका सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो।
उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न कैफियत प्रतिवेदन माग गरेको छ। माघ ८ गते न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश गरेको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology