समयको परिवर्तनसंगै विगतमा निश्चित स्थानमा मात्र आयोजना हुने मेला, महोत्सव र प्रदर्शनीहरु केही वर्षयता अर्थात संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात हरेक स्थानीय क्षेत्रमा एउटा संस्कृति जस्तै बन्न पुगेका छन । स्थानीय निकायहरुको विकास क्रमसंगै गठित भएका गाउँपालिका र नगरपालिकाहरुमा स्थापित विभिन्न व्यवसायिक संघ संस्थाहरुले यस्ता मेला महोत्सव लगाउने प्रतिस्पर्धा जस्तै बनेको छ । देखासिकीले व्यवसायिक संघ संस्थाको साख पनि यस्तै कार्यहरुसंग जोडिएको पाईन्छ ।
यस्ता कार्यक्रममार्फत दुरदराजका स्थानमा समेत केहीदिन अन्य क्षेत्रका मानिसहरुसंग जमघट हुने, मेलामा बच्चा, युवादेखि वृद्धहरुसम्म रमाउने, आवश्यक सामानहरुको खरिद विक्री गरिने कारणबाट आर्थिक चलायमान उच्च रहने गदर्छ । वस्तु तथा सेवाको उपभोगमा जति बढी खरिद विक्री हुन्छ, त्यति धेरै आर्थिक क्षेत्र चलायमान हुन्छ । त्यति धेरै मानिसहरुको हातमा पैसा पुग्दछ । जति धेरै मान्छेको हातमा पैसा पुग्छ, त्यति धेरै वस्तु तथा सेवाको माग बढ्छ, मागसंगै आपुर्ति बढ्छ । आपुर्ति बढेपछि उत्पादन बढ्छ, जसले गर्दा आर्थिक गतिशिलता बढ्न जान्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न आर्थिक पक्षहरुको समुन्नतीमा सकरात्मक प्रभाव पारेको हुन्छ । अर्थात जति पैसाको चक्र घुम्छ, बजारमा त्यति धेरै मानिसहरुले आर्थिक लाभ प्राप्त गर्दछन ।
मेला महोत्सवहरुमा संचालन हुने विभिन्न गतिविधिहरुका आफ्नै किसिमका सकरात्मक र नकरात्मक दुबै पक्षहरु हुन्छन । सकरात्मक पक्षलाई अझ परिस्कृत र बहुआयामिक बनाउन प्रयत्नशिल रहने र नकरात्मक पक्षहरुलाई जतिसक्यो न्युनिकरण गर्न सबै सरोकारवालाहरु एक ठाउमा उभिन जरुरी छ । केही समययता हरेक राजनितिक पार्टीहरुले प्रभाव पार्ने गरि व्यवसायिक संघ संस्थाको स्थापना र तिनिहरु विचको प्रतिस्पर्धाले गर्दा यस्ता कार्यक्रमहरुको आयोजनामा समग्र समाजको अपनत्व र सान्दर्भिक्ता भने हुन सकेको पाइदैन । मेला महोत्सव र प्रदर्शनी आयोजनामा साझा दृष्टीकोण निर्माण गरि सबैको अपनत्व र सहभागीता रहनसके यसको व्यवस्थापन र प्रभावकारीताले जनमानसमा सकरात्मक सोचको विकास गराउन टेवा पुग्ने देखिन्छ ।
अर्कोतिर स्थानीयरुपमा आयोजना हुने प्रदर्शनी र मेला महोत्सवको मुख्य उद्देश्य स्थानीय उद्योगको समवर्द्धन, उद्यमशिलताको विकास, प्रविधिको प्रयोगबाट उत्पादनमा वृद्धि ,व्यवसायिक कृषि उत्पादन, व्यवसाय र व्यवसायीहरुको बजारीकरणलाई राखिएता पनि अहिलेसम्म पनि उनिहरुको सहभागीताले खासै प्रमुखता पाउन भने सकेको छैन ।
यसको मुल कारण भने स्थानीय व्यवसायी र उत्पादकहरुले आयोजना हुने कार्यक्रमको अपनत्व नलिने सहभागीताबाट हुने फाईदाको ज्ञान नहुने र आफ्ना उत्पादनको विक्रीको सुनिस्चितता नभएको र आफ्नो सहभागीताका लागि स्टल कर्मचारी व्यवस्थापनमा लागतका कारण उनिहरुको संलग्नता अति न्यून हुने गर्छ । यसतर्फ विशेष योजनाका साथ सहकारी र वडा कार्यालयको समेत समन्वयमा उनिहरुको अधिकतम सहभागीताका लागि विशेष तयारीहरु गर्नुपर्ने अपरिहार्य छ । जबसम्म यस्ता कार्यक्रममाहरुमा स्थानीय व्यवसायी र उत्पादनको बजारीकरणलाई सहजीकरण गर्न सकिँदैन, तबसम्म मेला महोत्सवको फाईदा र यसको औचित्य आम समुदायमा पुष्टि गर्न सकिँदैन ।
मेला, महोत्सव र प्रदर्शनी आयोजनाका सकरात्मक पक्ष :
क) व्यवसायीक जागरुकता, उद्यमशिलता विकास र स्थानीय उत्पादनहरुको बजारीकरण
ख) जातिय संस्कृति र खानाका परिकारहरुको संरक्षण
ग) स्थानीय कला, संस्कृति तथा साहित्यको पहिचान र संरक्षण
घ) बाल प्रतिभाहरुको पहिचान, प्रचारप्रसार र अवसरको सृजना
ङ) स्थानीय पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसार र राष्ट्रिय तथा अन्तराष्ट्रियकरण
च) विज्ञान प्रविधि विकासको ज्ञान र सदुपयोगिता बारे जानकारी
छ) आर्थिक गतिशिलता मार्फत आर्थिक विकासमा टेवा
ज) मनोरञ्जन तथा खेल प्रतियोगिता
झ) पर्यटन, उत्पादन, आर्थिक र सामाजिक विकासका लागि भावी योजनहरुमा छलफलको अवसर तथा सम्बन्धित निकाय समक्ष पैरवी
ञ) औद्योगिक उत्पादन, व्यवसायिक र बजारीकरणका समस्याहरु समाधानका लागि साबन्धित पक्षको ध्यानाकर्षण गराउने अवसर
नकरात्मक पक्षहरु :
१) ध्वनी तथा फोहर प्रदुषण
२) झै-झगडा र दुर्घटना हुनसक्ने अवस्था
३) केही दिन स्थानीय बजारमा खरिद विक्रीमा कमि
४) आर्थिक पलायन (पैसा बाहिरिनु)
५) फजुल खर्चमा वृद्धि
६) विदेशी सामानको आकर्षण
७) अधिक राजनितिक प्रभाव
यी सबै सकरात्मक र नकरात्मक विषयवस्तुहरुमा व्यापक छलफल मार्फत थप उपलब्धी पुर्ण बनाउन मेला महोत्सव लगाउने स्थल नजिकका वासिन्दा र जनप्रतिनिधि, संघ सस्थाहरु अन्य सबै सरोकारवालाहरु विचमा साझा समझदारी बनाउनु आजको आवश्यक्ता हो ।
मेला महोत्सवको समयको व्यवस्थापन र यसको तयारी र सुरक्षा चुनौती एउटा जटिल विषय हो । खास गरेर मेला महोत्सवहरुमा झगडा, कुटपिटजस्ता अबान्छित क्रियाकलापहरुबाट लान्छित हुने गर्दछन । त्यसैले समयको व्यवस्थापन र सुरक्षाको प्रत्याभुति ठुलो चुनौतीको विषय बनेको हुन्छ । अर्कोतिर मेला महोत्सवको आयोजना र यसको व्यवस्थापन अति खर्चिलो हुने गर्दछ तर पनि यसको आयोजना र सम्पन्नता व्यवसायिक संस्थाहरुको ईज्जत र प्रतिष्ठासंग जोडिएको हुन्छ । यहाँ धेरै जनमानसमा आर्थिक पाटोको सतही बुझाई छ । मेला महोत्सव आयोजकले टन्नै पैसा कमाउछन भन्ने लाग्दछ तर जताततै महोत्सवहरुको आयोजना र प्रतिस्पर्धाका कारण वास्तविक रुपमा भने लागत पुर्याउन नै कठिनाई हुने गर्दछ । प्रायोजक, सहयोगदाता, स्टल भाडा र टिकट कहिबाट पनि योजना र सहमति सम्झौता अनुसारको रकम उठ्न सक्दैन । यसले मेला अवधीभर मुल आयोजक समिति तनावमुक्त भने हुन सक्दैनन् । सबैभन्दा बढी कलाकार, विभिन्न खेलकुद, सांस्कृतिक ईभेन्ट संचालन, नगद पुरस्कार, निर्णायक व्यवस्थापन र परिचयपत्र निर्माणमा खर्च बढी हुने गर्दछ ।
अझ धेरै ठाउँका मेला महोत्सवमा परिचय पत्र व्यवस्थापनले नै बढी टिक्काटिप्पणीको विषय बनेको देखिन्छ । मेला स्थलको भौतिक पुर्वाधारसमेत आयोजक आफैले अल्पकालको लागि गर्नु पर्दा स्टल निर्माणमा ठुलो बजेट खर्च हुने स्थानीयस्तरमा ठुला टेण्ट व्यवसायी नहुने जसका कारण त्यो पैसा बाहिरने गर्दछ । यसैगरी मेला महत्सव भनेकै बाल उद्यानमा वालवालिकाको रमाईलो जोडिएको हुँदा यसमा गरिएको केही रकम आयोजकले लिने र बाँकी बाल उद्यानवाला कै हुने हुदा यसबाट पनि केही रकम बाहिरीने गरेको पाईन्छ । समग्रमा एउटा स्थानीय निकायभित्र आयोजना गरिएको यस्ता कार्यक्रमले पनि खरिद-विक्री र सेवा प्रयोगका हिसावले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमै आर्थिक चलायमान भएको हुन्छ ।
हामीले आयोजना गर्ने यस्ता मेला महोत्सवहरुलाई कसरी प्रभावकारी, मितव्ययी र स्थानीयस्तरमै धेरै भन्दा धेरै आर्थिक सदुपयोगिता हुने गरि गर्न सकिन्छ भन्ने कुराहरु सबैको चासोको विषय बनाउन र योजना निर्माणमा ध्यान केन्द्रित गरी साझा संकल्प र दृष्टिकोण बनाउन जरुरी छ । यसका लागि यी कुराहरुमा छलफल र पैरवी गर्नु सान्दर्भिक हुन सक्छ ।
क) सबै व्यवसायिक संस्थाले अपनत्व लिने अर्थात सबै मिलेर आयोजना गर्ने
ख) स्थानीय उत्पादन र व्यवसायिक प्रवर्दनका लागि कम्तिमा ५० वटा स्टल नि:शुल्क प्रदान गर्ने
ग) विज्ञान, प्रविधि र साना उद्योग संचालन गर्न सकिने मेशिन तथा औजारको स्टल अनिवार्य राख्ने
घ) प्रदर्शनी अवलोकन र मनोरञ्जन टिकट अलगअलग व्यवस्थापन गर्ने (११ बजेदेखि ४, अनि ४ बजेदेखि ७ सम्म)
ङ) प्रदर्शनी स्थलको दिर्घकालिन भौतिक पुर्वाधार निर्माणमा आयोजकहरुले अनिवार्य लगानी गर्नुपर्ने
च) व्यवसायहरुको प्रकृति वर्गिकरणका आधारमा न्यून संख्यामा मात्र स्टल राख्ने
छ) सुरक्षाक्षेत्र, स्टल तथा बाल उद्यानमा स्थानीय मानिसहरुलाई रोजगारको सुनिश्चिता प्रदान गर्ने
ज) महोत्सव अवधिभर स्टल व्यवसायीलाई स्थानीय रुपमै वस्ने व्यवस्थाको प्रबन्ध मिलाउने
झ) स्थानीय कलाकार, जातजातिको कला संस्कृतिलाई बढी महत्व प्रदान गर्ने
ञ) एकैदिन राष्ट्रिय कलाकारको सख्या धेरै नराख्ने र ३ वजे देखिनै कलाकारहरुको प्रस्तुती गराउने
ट) मेला महोत्सवमा विक्री गरिने सामाग्रीहरुको गुणस्तरियतामा कडाईका साथ नियमन र अनुगमन गर्ने
ठ) स्थानीय व्यवसायी र उत्पादन वजारीकरण गर्ने एकजना व्यवसायीलाई उत्कष्ट व्यवसायीको रुपमा पुरस्कृत र समान गर्ने
ड) सुरक्षाको दृष्टीकोणले साझको सांस्कृतिक कार्यक्रमहरु छिटो सकाउने
ढ) अधिकतम स्टलहरुमा स्वदेशी उत्पादनहरुलाई नै प्राथमिक्ता दिने
माथि उल्लेख गरिएका विषयवस्तुमा स्थानीय निकाय, सरोकारवाला व्यवसायिक संघ संस्थाहरु र राजनितिक दलहरु समेतले समझदारी गरि अगाडि बढ्न सके आयोजनाबाट स्थानीयस्तर मै आर्थिक लाभ लिने र यहाँको अर्थतन्त्र चलायमान गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्न सकिन्छ भने स्थानीय व्यवसायीहरुको प्रवर्द्धन र संरक्षण गर्दै थप उद्यमशिल, स्वरोजगार बनाउन उत्प्रेरित गराएर सबैको अपनत्व र सकरात्मक सोचको विकासले आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिन्छ ।
मेला, महोत्सवहरु जहाँ जसले आयोजना गरेपनि अन्तिममा राजनिति प्रभाव हावी हुने हुँदा राम्रा पक्षहरु गौण बनाउने परिपाटी कायमै छ । सकारात्मक पक्ष, यसले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा पारेको प्रभावका सन्दर्भमा छलफल, भावी कार्यदिशा र यसका बहुआयामिक विषयवस्तुलाई थप उत्कृष्ट कसरी बनाउन सकिन्छ भन्ने बहसको साटो नकरात्मक टीकाटिप्पणीमा केन्द्रित हुनु गलत छ । मेला महोत्सवहरूमा सकारात्मक सोचको विकास गर्दै सरोकारवालाहरु सबैको सह-अस्तित्व, सहभागीता र उच्चतम आर्थिक सदुपयोगिताका लागि खबरदारी आवश्यक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology