देवदह । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव आयोजना हुने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले चैत्र २१ देखि २८ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो।
महोत्सव मूल आयोजक समिति संयोजक एवं देवदह नगरपालिका–९ का वडा अध्यक्ष मोहन जिसीले ‘देव दह’को संरक्षण, छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय व्यवस्थापनको लागि महोत्सव आयोजना गरिएको बताए। 'प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने पवित्र स्थल देवदह भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक छ।' उनले भने, ‘यहाँ सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको छ। बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको छ।’
देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिराबहादुर खत्रीले देव दह यस क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गरे। उनले भने, ‘देव दहको बारेमा विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ। बुद्धकालीन समयमा राज्याभिषेकका क्रममा यहाँ स्नान गर्ने गरिन्थ्यो। यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि स्थानीय तहले निरन्तर योगदान दिँदै आएको छ। पुरातत्व विभागले उत्खनन र प्रमाणीकरण लगायतका कार्यमा ढिलाइ गर्नु हुँदैन।’
देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन। धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले यसलाई मङ्गलपुष्करिणी भनिएको हो। बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ।
महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ। चैत्र २१ गते बौद्ध गुरुहरूले दह शुद्धीकरण पूजाको आरम्भ गर्नेछन् भने चैत्र २२ गते बिहान ९:३० बजे शोभा कलश यात्रा निकालिनेछ। सोही दिन बिहान १०:३० बजे महोत्सवको औपचारिक उद्घाटन गरिनेछ। महोत्सव अवधिभर प्रत्येक बिहान ७ बजे पूजा–अर्चना, ८ बजे पाठ पारायण, ११ बजेबाट ४ बजे सम्म कथा प्रवचन, राष्ट्रिय कलाकारहरूको भजन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ। चैत्र २८ गते पूर्णाहुति एवम् यज्ञ समापन गरी महोत्सव समापन गरिनेछ।
महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सहआयोजक प्रगति सामूदायिक वन रहेको छ ।
कार्यक्रममा कथावाचक पं. चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन्। महोत्सवबाट संकलित रकम छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गरिने आयोजक समितिले जनाएको छ। धार्मिक र सामाजिक उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा सबैलाई सहभागिताका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
१० लाखमाथि सहयोग गर्नेको दह परिसरमा अर्धकदको शालिक निर्माण गरिने
महोत्सवमा १० लाखमाथि सहयोग गर्नेको दातालाई विशेष सम्मान गरिने भएको छ । विशेष सम्मान स्वरूप दह परिसरमा अर्धकदको शालिक निर्माण गरिने आयोजकले जनाएको छ ।
यस्तो छ, दान/दाताहरूलाई अर्पण गरिने सम्मान विवरणहरू
➤ रु. १ देखि रु. ९९९ सम्म दान पेटिमा राखिने छ ।
➤ रु. १,००१ देखि रु. २,००० सम्म रसिद काटी धर्मखातामा राखिने छ ।
➤ रु. २,००१ देखि ५,००० सम्म सादा सम्मान पत्र र रुद्राक्ष मालाले सम्मान गरिनेछ ।
➤ रु. ५,००१ देखि रु. १०,००० सम्म रुद्राक्ष माला, रामनामी र सम्मान पत्रले सम्मान गरिने छ ।
➤ रु. १०,००० देखि रु. १५,००० सम्म दान गर्ने दातालाई आकर्षण फ्रेममा सम्मान गरिनेछ ।
➤ रु. १५,००० देखि माथि दान गर्ने दाताको नाम शीलालेखमा लेखि माथि उल्लेखित सबै सम्मान गरिनेछ ।
➤ रु. २५,००० भन्दा माथि दान गर्ने दाताको माथिका सम्मान सहित दम्पतिको नाम शीलामा लेखिनेछ ।
➤ रु. ५०,००० भन्दा माथि दान गर्ने दाताको माथिको सबै सम्मान सहित ४ जनाको नाम शीलामा लेखिने छ ।
➤ रु. १ लाख देखि रु. २ लाख सम्म दान गर्ने दाताको स-परिवारको नाम शीलामा लेखि बाजागाजाका साथ सम्मान गरिनेछ ।
➤ रु. २ लाख देखि ५ लाखसम्म सहयोग गर्ने दातालाई माथि उल्लेखित सबै सम्मानसहित बाजागाजाका साथ टोल परिक्रमा गराइने छ ।
➤ रु. १० लाख भन्दा माथि दान गर्नेको दह परिसरमा अर्धकदको शालिक निर्माण गरिने छ शालिक निर्माण गर्न खर्च दाता स्वयंले बेहोंन पर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology