पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।शुक्रवार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले वर्तमान निर्वाचण प्रणालीबाट देशले निकास पाउन नसक्ने बताए ।
भेलामा प्रचण्डले भने, ‘संंविधान निर्माणको बेला नै हामीले केही रिजर्भेसन राखेका थियौँ । संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ । तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो ।’ उनले भने, ‘हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ ।’ उनले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौती समेत दिए ।
प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताउँदै भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ । बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो । अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ । यसमा हामी दह्रोसँग उभिन्छौँ ।’
कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताए । उनले भने, ‘जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ । यसले वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ । उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ ।’
भेलामा पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताइन् । उनले उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको उल्लेख गरिन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology