काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रवार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस्तो बताए ।
आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको प्रवक्ता बुढाथोकीको भनाइ छ । देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगबिहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरणसमेत मर्मत गरी सञ्चालनमा ल्याइएको वीरको भनाई छ ।
प्रवक्ता बुढाथोकीले भने, "माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ । त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रयोगशालामा उपकरण र जनशक्ति थप गरी सेवा बिस्तार गरिएको छ । साथै एमआरआई सेवाको क्षमता पनि महिनामा दुई सय जनाभन्दा बढीले सेवा लिन पाउने गरी व्यवस्था गरिएको छ । देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएका वा प्रयोग बिहीन अवस्थामा रहेका उपकरण मर्मतका लागि गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी पत्रमा अस्ताक्षर भएको थियो । सोही सम्झौता बमोजिम हालसम्म ४८४ वटा उपकरणको मर्मत कार्य भइसकेको छ ।’
यसैगरी सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ९ बुँदे सम्झौता भएको पनि अस्पताल प्रशासनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology