रेशम अधिकारी, देवदह । कक्षा दशको (एसईई) परीक्षा सकेर बसेका विद्यार्थी कोही परीक्षा सकेर घुम्न व्यस्त हुन्छन त कोही आफ्नै घरको दैनिक काममा । तर, रूपन्देहीको केरवानी माध्यमिक विद्यालयका विद्यार्थी परीक्षा सकेर अहिले विद्यालयको जमिनमा कृषि गर्दै गरेको देख्न सकिन्छ ।

विद्यालय भन्नेबित्तिकै शिक्षकले पढाएको किताबको पाठ पढ्ने र बेलुका घरमा आएर गृहकार्य बुझिन्छ । हाम्रो सामान्य शिक्षा प्रणाली यसरी नै चल्छ । तर, रूपन्देहीको देवदहमा रहेको केरवानी माविको अवस्था भने फरक छ । प्राविधिक धार बाली विज्ञान तर्फ कक्षा १० को परीक्षा सकेर बसेका विद्यार्थी अहिले खेतीपातीमै व्यस्त छन् । विद्यार्थीहरू कोही गड्यौला मल बनाउँदै छन् । कोही टनेलभित्र तरकारी रोप्दै छन्, त कसैले विरुवामा पानी राख्दै छन् । त्यतिमात्र होइन, विद्यार्थीहरू उत्पादित तरकारी बजारसम्म पुर्याएर पनि आएका छन् । विद्यालय परिसरभित्रै भएका तरकारी खेती, माछापालन, केरा खेती अनि थरिथरिका बाली देख्न सकिन्छ । प्राविधिक कृषि पढिरहेका विद्यार्थीले ती सबै बालीनाली रेखदेख गर्छन् । विद्यालयभित्रै यस्तो दृष्य देखेर त्यहाँ पुग्ने जो कोही पनि अचम्ममा पर्छन् । तर केरवानी माध्यामिक विद्यालयमा भने यो दृष्य विगत ३ वर्षदेखि निरन्तर देखिँदै आएको छ ।

पढेको कुरालाइ व्यवहारमा लागु गर्न सके विद्यार्थी सफल हुन्छन - सह प्रधानाध्यापक हरि पाण्डे
केरवानी माध्यामिक विद्यालयका सहप्रधानअध्यापक हरि पाण्डेले विद्यार्थीले विद्यालयमा पढेका कुरालाइ आफ्नो ब्यबाहारमा लागु गर्न सके उनीहरुको जीवन सफल हुने बताउछन् । "हामीले विद्यालयमा विद्यार्थीलाई अध्यापन गराए अनुसार विद्यार्थी लाग्ने हो भने नेपाल कृषि क्षेत्रमा प्रचुर सम्भावन बोकेको देश भएकोले विद्यार्थी रोजगारको निम्ति भौतारिन पर्दैन" उनले भने । विद्यार्थीले उत्तीर्ण गरेपछि आफै आधुनिक कृषि कर्ममा लागी मनग्गे आम्दानी गर्न सक्ने उनको भनाई छ ।

कृषि पढेका विद्यार्थी बेरोजगार हुन्न - कृषि शिक्षक निरञ्जन अर्याल
विद्यालयका शिक्षक निरञ्जन अर्यालले कृषि पढेका विद्यार्थी बेरोजगार बस्न नपर्ने बताउँछन् । उनी भन्छन् - “नेपालमा ७० प्रतिशत नागरिक कृषिमा नै आबद्ध छन् । यसको क्षेत्र बृहत् छ । रोजगारीका अवसर प्रशस्त छन् । अहिलेसम्म कृषि शिक्षा पढेका विद्यार्थी खाली बस्नुपरेको छैन । नेपालमै बसेर मासिक १ लाख बढी कमाउन सकिन्छ ।" अर्यालका अनुसार केरवानीले विद्यार्थीलाई कक्षामा पढेका मात्र छैनन् । विद्यार्थीलाई स्वयं फिल्डमा लगेर सिकाएको छ । उनी अगाडि भन्छन् - "केरवानी माध्यमिक विद्यालय कृषि संकायबाट माध्यमिक परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले अहिले आफ्नै फार्म खोलेर बसेका पनि छन् ।"

केरवानी माविमा कृषि पढ्दै गरेकी दिपा बश्याल देशमा खाद्यान्न निर्यातभन्दा आयात बढी भएकोले देशलाई कृषिमा अत्मनिर्भर बनाउन आफुले कृषि शिक्षा रोजेको उनी बताउँछिन् । क्षेत्र अनुसारको वस्तु उत्पादन गर्ने हो भने आयातभन्दा निर्यात बढाउन सकिने उनको भनाइ छ । विदेश पलायन हुनु भन्दा नेपालको कृषिमा नै केही गर्ने उनको अठोट छ ।

त्यसैगरी, संस्थागत विद्यालयबाट सामुदायिक केरवानी विद्यालयमा अध्ययन गर्न आएकी कक्षा ९ की छात्रा ममता क्षेत्री ‘बोर्डिङमा भन्दा सरकारी विद्यालयमा राम्रो पढाईभएको बताउँछिन् । उनी भन्छिन् - "आफ्नो इच्छा अनुसार पढ्न पाइएको छ, सरकारी विद्यालयबाट राम्रो अंक ल्याउने विद्यार्थीलाई हरेक क्षेत्रमा अवसर र सहुलियत रहेकोले पनि सरकारी विद्यालय रोजेकी हुँ।"

वि. सं. २०१० सालमा स्थापना भएको केरवानी माविले २०७३ साल देखि प्राविधिक शिक्षा अन्तर्गत बाली विज्ञान सञ्चालनमा ल्याएको हो । केरवानी मावि नमुना विद्यालयको रुपमा समेत पुरस्कृत हुँदै आएको छ ।



Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology