काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा महिलाको हक खोसिएको बताएका छन् । आईतवार काठमाडौंमा संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को महिला समितिले आयोजना गरेको चौथो राष्ट्रिय महिला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले रोजगारीमा समान हकको कुरा गरिरहे पनि वैदेशिक रोजगारीमा महिलाको हक खोसिएको बताए । उनले ५० हजार नेपाली महिलाहरु कुवेतमा रहेको र उनीहरुको आधिकारिकता सरकारसँग नरहेको उल्लेख गरे । नेपालको कानूनले जान नदिएको तर उनीहरु कुवेतमा पुगेको बारेमा गम्भीर हुनुपर्ने उनले बताए । सरकारले फागुनको २६ र २७ गते राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको पनि उनले सो अवसरमा जानकारी दिए ।
‘हामी रोजगारीमा समान हकको कुरा गरिरहेका छौँ ।’ उनले भने, ‘अहिले वैदेशिक रोजगारीमा महिलाको हक खोसिएको छ ।’ मन्त्री भण्डारीले श्रम, ट्रेड युनियन ऐन, वैदेशिक रोजगारी, सामाजिक सुरक्षा ऐन लगायतका ऐनहरु समयसापेक्ष बनाउन जरुरी रहेको बताए । उनले सरकारले सोही कामअनुसार अहिले समयसापेक्ष बनाउने दिशातिर अघि बढिरहेको जिकिर गरे ।
वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार हुने भन्दै उनले मुलुकभित्रका रोजगारका सम्भावनाहरु खोजि गरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा सरकार लागिपरेको बताए । सरकारले आगमी दशकलाई रोजगार दशकको रुपमा अघि बढाउने तयारी गरिरहेको समेत उल्लेख गरे ।
कार्यक्रममा बोल्दै जेटियुसिसीका अध्यक्ष जगतबहादुर सिम्खडाले महिलाले अवसर पाउँदा राष्ट्रपति भएर पनि राज्य सञ्चालन गर्नसक्ने कुरा प्रमाणित भइसकेको बताए । उनले अहिले पनि कार्यस्थलहरुमा पुरुष र महिलालाई हेर्ने दृष्टिकोण अलि फरक रहेको उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology