बर्दघाट । नवलपरासीको बर्दघाटमा आयोजित शैक्षिक मेलामा व्यवहारिक शिक्षाबारे बहस भएको छ । मेलाको औपचारिक कार्यक्रम र शैक्षिक बहसमा बोल्दै वक्ताहरुले सीपयुक्त सिकाइमा जोड दिए ।
मेलामा बोल्दै संघीय सांसद सरिता भुसाल खनालले घोकन्ते शिक्षाले शिक्षाको विकास नहुने बताइन् । व्यवहारिक शिक्षाबिना शैक्षिक विकास र समाज रुपान्तरण दुवै हुन नसक्ने उल्लेख गर्दै उनले जीवन उपयोगी शिक्षा प्रणाली अहिलेको आवश्यकता रहेको औल्याइन् । उनले बर्दघाट नगरपालिकाका सबै विद्यालयमा सीपयुक्त सिकाइ र विद्यार्थीको प्रतिभा प्रस्फुटनको लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा नवलपरासी (ब.सु.प.) का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदल, समृद्ध समुदाय विकास केन्द्रका अध्यक्ष ठाकुर घिमिरे लगायतले बोल्दै शिक्षण सिकाइलाई व्यवस्थित बनाउन परम्परागत सिकाई प्रक्रियाको विकल्प खोजिनुपर्ने बताए ।
यसैगरी मेलामा आयोजित 'गुणस्तरीय शिक्षाका लागि, हाम्रो प्रयास र चुनौती' विषयक शैक्षिक बहसमा बोल्ने वक्ताहरु सिकाइलाई मात्रै प्रमाणपत्रमा मापन गर्न नहुने बताए । सिकाइ प्रक्रियालाई बदल्ने र शिक्षामा प्रयाप्त लगानी भएको अवस्थामा सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट हुन सक्नेमा उनीहरुले जोड दिए । पत्रकार टंक सुनारद्वारा सहजीकरण गरिएको शैक्षिक बहसमा बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्याय, नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकराज पन्थी, शिक्षाविद डा. प्रकाश शर्मा पौडेल र शिक्षक विनोद खनाल सहभागी थिए ।
शैक्षिक मेलामा विद्यार्थीहरुको सिकाइ प्रदर्शनी, फुड फेस्टिवल, सहयोगात्मक सिकाइ कक्षासंगै विद्यार्थीहरुका रचनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । विद्यार्थी, शिक्षक र स्थानीय गरी सात हजार जनाले मेलाको अवलोकन गरेको मेलाको व्यवस्थापन गरिरहेको संस्था समृद्ध समुदाय विकास केन्द्रका निर्देशक युवराज चापागाईंले जानकारी दिए ।
बर्दघाट नगरपालिकाको आयोजना, स्कुल लाइफ इन नेपाल, डेनमार्कको सहयोग र समृद्ध समुदाय विकास केन्द्रको व्यवस्थापन रहेको कार्यक्रम बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । शैक्षिक मेला राष्ट्रिय माध्यमिक विद्यालय बर्दघाट ७ मा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology