देवदह । रुपन्देहीको देवदहमा चैत्र २ गते धम्म यात्रा हुने भएको छ । बुद्ध पूर्णिमाको अवसर पारेर थाईल्याण्डको धम्मकाय अखिल नेपाल भिक्षु महासंघको आयोजना र बौद्ध समाज नेपालको व्यवस्थापनमा भईरहेको ५ सय कुलपुत्र श्रामणेर प्रव्रज्या कार्यक्रम अन्तरगत गौतम बुद्धको मावली देवदहका दुई स्थानमा धम्म यात्रा हुने जनाइएको छ ।
मंगलबार देवदहमा पत्रकार भेटघाट गर्दै बौद्ध समाज नेपालका उपमहासचिव चन्दा थापाले देवदह–५, पानवारीमा रहेको देवदह बौद्ध विहारबाट शुरु भई देवदह–३, सेमरहनामा रहेको बौद्ध शान्तिस्तुपा पुगेर धम्मयात्रा समापन हुने बताए । धम्म यात्रामा करिव सय जना भिक्षुहरुको सहभागिता हुने छन् ।
धम्मयात्रामा सहभागि हुने भिक्षुहरुलाई विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, एकल जातीय संस्था तथा बौद्धमार्गीहरुले बाटोमा स्वागत तथा पुष्पार्पणको व्यवस्था गरिएको देवदह बौद्ध विहारका अध्यक्ष भविन्द्र थापाले बताए । धम्म यात्राका भिक्षुहरुलाई बौद्ध शान्ति स्तुपा व्यवस्थापन समिति र चाहना आमा समुह देवदह–३ ले भोजनको व्यवस्था गरेको छ ।
यसैगरी देवदह नगरपालिका–१२, प्रगतिनगरमा रहेको कोलिय बुद्ध विहारबाट शुरु भएको धम्म यात्रा शंकरपुर हुदै गुरुङ्ग समाजको भवनमा पुगेर समापन हुने बौद्ध समाज नेपालका अर्का उपमहासचिव दुरमान गुरुङ्गले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले बुद्ध शिक्षालाई व्यवहारमा उर्तान सके शान्ति कायम हुनेमा जोड दिए । उनीहरुले धम्म यात्राले देवदहको प्रचार प्रसारसंगै पर्यटकीय रुपमा विकास गर्न टेवा पुर्याउने बताए ।
बौद्ध शान्ति स्तुपा व्यवस्थापन समितिका अध्यक्ष चक्रवन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा धम्म यात्रा व्यवस्थापन समितिका संयोजक तथा बौद्ध समाज नेपालका उपमहासचिवद्धय चन्दा थापा, दुरमान गुरुङ्ग, नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टा, देवदह नगरपालिका–३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology