देवदह । देवदहमा धम्म यात्रीहरूलाई स्वागत गरिएको छ । थाइल्याण्डबाट आएका ६० जना भिक्षुहरुलाई बुधवार देवदह-७ स्थित अन्तराष्ट्रिय भिक्षुणी बिहारमा स्वागत गरिएको हो ।
विश्वशान्तिको कामना गर्दै ४६८ किलोमिटर लामो धम्म यात्रामा निस्किएका बौद्ध भिक्षुहरु काठमाडौं, पोखरा, स्याङ्जा, पाल्पा हुँदै मंगलबार बेलुका देवदह आएका थिए । देवदहको राष्ट्रिय गौतम बुद्ध (काष्ठकला) मा मंगलवार रात बिताएका धम्म यात्रीहरुले बुधवार बिहान अन्तराष्ट्रिय भिक्षुणी बिहारमा भोजन गरेको बिहारकी अधिपति उपेखा गुरुमाले जानकारी दिइन् ।
भिक्षुको स्वागत कार्यक्रममा निवर्तमान संघीय सांसद छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्य जानकी न्यौपाने, देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतको सहभागिता थियो ।
बुधवार बेलुका मायादेवीको जन्मस्थल भवानीपुरमा शान्तिको कामना गर्दै ५०० दीप प्रज्ज्वलन गरिने जनाइएको छ ।
भिक्षुहरु आजको रात भवानीपुरमा विश्राम गरी बिहिवार रामग्राम पुग्नेछन् । रामग्रामपछि लुम्बिनी, कपिलवस्तु हुँदै धम्म यात्रा भारत प्रस्थान गर्नेछ ।
पछिल्ला वर्षमा देवदहमा भिक्षुहरुको आगमन बढ्दो छ । विगत तीन वर्षदेखि यहाँ धम्म यात्री भिक्षुहरु आउने क्रम जारी छ ।
यस प्रकारका कार्यक्रमलाई स्थानीय सरकारले बजेटसहित योजना निर्माण गर्नुपर्ने र स्थानीय समुदायमा समेत अझै जागरणको आवश्यकता देखिएको पर्यटन अभियन्ता यम राना बताउँछन् ।
विश्व शान्तिको लागि अमेरिका लगायतका देशमा धम्म यात्रा भइरहेका छन् । नेपालमा अन्तराष्ट्रिय भिक्षुको आगमन अध्यात्मिक मात्र नभएर पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण हुने अभियन्ता रानाको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology