बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजे ठिक नहुने चेतावनी दिए ।
अहिलेको राजनीति परिवर्तन विशेषत: संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको उनले स्पष्ट पारे । त्यसका लागि पार्टीले अपिल गर्दा लाखौं जनता काठमाडौमा उत्रने उनको भनाइ छ ।
अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै उनले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए ।
‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको छ’– अध्यक्ष प्रचण्डले भने – ‘अहिले आएर संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता उत्पीडित क्षेत्र र समुदायले पाएको अधिकार खोज्ने कुचेष्टा हुँदैछ । प्रतिगामी तत्वहरु व्यवस्थामाथि धावा बोल्न खोज्दैछ्न भने भ्रष्ट र दलालहरु विभिन्न बहानामा जनताका अधिकार खोस्न लागिरहेका छन्, यसखाले सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै बिचलित हुने छैनौं, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौं ।’

अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको बताए । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसमा महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियोे ।’ उनले भने, ‘हाम्रो भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको बेलामा यो अझ बढी आवश्यक छ भन्ने निष्कर्ष निकालेको छ । अब हामीले निष्कृय रहेका मोर्चाहरुलाई समेत ब्यूँताउँदै सबै जातीय क्षेत्रीय मोर्चालाई सुदृढ बनाएर जाने नीति लिएका छौं, अब क्रमशः भेला सम्मेलनमार्फत सबै मोर्चाहरु सक्रिय बनाउने छौं । त्यहीअनुसार तामाङ, गुरुङ, थारु र मगर मोर्चाको सम्मेलन गरेका छौं भने बाँकी मोर्चाको भेला सम्मेलन गर्दै जाने छौं ।’
हिजो जातीय क्षेत्रीय मोर्चामार्फत संघर्षलाई संगठित नगरेको भए जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना नरहेको स्पष्ट गर्दै उनले मगर समुदायलगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका महान सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढा लगायत मगर समुदायका हजारौं छोराछोरीले देशको परिवर्तनका लागि रगत बगाएको उल्लेख गर्दै प्रचण्डले ज्यूँदै आँखा निकाएर जलाउँदा पनि आत्मसमर्पण नगरेका मगर यौद्वाहरुको ऐतिहासिक बलिदान रहेको स्मरण गरे । बलिदान र बलिदानको बलमा स्थापित गणतन्त्रले महिला, जनजाति, मधेसी लगायत उत्पीडित समुदायबाट राष्ट्रपति र सभामुख जस्ता उच्च पद प्राप्त गर्ने अवसर आएको उल्लेख गर्दै उनले अब परिवर्तनको रक्षाका लागि पनि उत्पीडित वर्ग नै अगाडि आउनुपर्ने धारणा व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology