काठमाडौँ । भारतले एसियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक जितेको छ ।
जापानको निसिनस्थित कोरोगी खेलकुद पार्कमा शनिबार भएको फाइनलमा भारतले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो ।
पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले २८ बलमा ६१ रन बनाए भने तिलक वर्माले २२ बलमा अविजित ५१ रन जोडेका थिए । त्यस्तै शिवम दुबेले १५ बलमा २७ रन बनाए ।
२१२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले जवाफी ब्याटिङमा संघर्ष गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो । पाकिस्तानका लागि हसन नवाजले ९६ रन बनाएका थिए ।
भारतले खेल आफ्नो पक्षमा पार्दै पुरुष क्रिकेटको स्वर्ण पदक हात पारेको हो । यो भारतको एसियाली खेलकुद पुरुष क्रिकेटमा लगातार दोस्रो स्वर्ण हो। भारतले अघिल्लो हाङझाउ एसियाली खेलकुदमा पनि स्वर्ण जितेको थियो ।
त्यस्तै पाकिस्तानले हारसँगै एशियाली खेलकुदमा रजत पदक जितेको छ । यस प्रतियोगितामा श्रीलंकाले बंगलादेशलाई हराउँदै कांस्य पदक जितेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology