बुटवल । प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले लगातार दोस्रो जित निकालेको छ । बिहिवार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई एक सय २७ रनले हराएको हो ।
एक्स्ट्राटेक ओभल मैदानमा आर्मीले दिएको दुइ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.१ ओभरमा एक सय ३५ रनमा अलआउट भयो । कर्णालीको लागि प्रकाश जैसीले अविजित अर्धशतक बनाएपनि अन्यबाट योगदान हुन सकेन । बिपिन रावलले २३ तथा दिनेश अधिकारीले २२ रन बनाए ।
आर्मीका शाहब आलमले १० ओभरमा २८ रन दिएर ३ विकेट लिए । सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६२ रन बनाएको थियो । आर्मीका लागि तृत राज दासले ६९ रन बनाउँदा कप्तान विनोद भण्डारीले ५६, भिम सार्कीले ४० तथा बसिर अहमदले ३६ रन बनाए ।
कर्णालीका प्रकाश जैशीले १० ओभरमा ६४ रन दिएर ४ विकेट लिए । दिनेश अधिकारीले १० ओभरमा ७४ रन दिएर ३ विकेट लिए भने सुनिल धमलाले २ विकेट लिए । आर्मीले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । कर्णालीले सुदुरपश्चिमलाई हराउँदा गण्डकीसँग पराजित भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology