काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा रहेका लगानी सम्भावनाहरुलाई सही रुपमा पहिचान गरी बिआरआई अन्तर्गत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।
उनले नेपाल एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रतिको नेपालको प्रतिवद्धता बलियो रही आएको बताए । बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताउँदै घिमिरेले बिआरआई नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभइ आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्ने बताए ।
सभामुख घिमिरेले नेपाल आफ्नो भौगोलिक अवस्थालाई उपयोग गर्दै ट्रान्जिट हबको रुपमा स्थापित हुनसक्ने उल्लेख गर्दै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास, सडक, रेलमार्ग, उर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक रहेको जिकिर गरे । नेपाल—चीन सम्बन्ध केबल व्यवसायिक वा आर्थिक सहयोगमा सिमित नरहेको भन्दै उनले सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणका क्षेत्रमा पनि सम्बन्ध बिस्तार भइरहेको बताए ।
सभामुख घिमिरेले दुई देशबीच विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन कार्यक्रमले उल्लेखनिय भुमिका निर्वाह गर्ने दावी गर्दै नेपाल—चीन बीचको भौगोलिक, सांस्कृतिक र जनस्तरको सम्बन्धले दुई पक्षिय सम्बन्धलाई झनै बलियो बनाएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology