काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध राजनीतिक दलका नेताहरूले कडा प्रतिक्रिया दिएका छन्। सत्ता पक्ष र प्रतिपक्ष दुवैका नेताहरूले सरकारको कदमलाई अस्वीकार्य भन्दै यसको विरोध गरेका छन्।
प्रचण्ड: ‘सरकारको निर्णय आपत्तिजनक’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयलाई ‘बिल्कुल गलत र आपत्तिजनक’ भनेका छन्। "देशमा चरम लोडसेडिङ हुँदा मेरो नेतृत्वको सरकारले कुलमानलाई नियुक्त गरेको थियो, जसले उज्यालो नेपाल बनाउने काम सफलतापूर्वक गरे," उनले भने। उनका अनुसार कुलमानलाई जनताको पैसा उठाउनुपर्ने अडानका कारण पटक–पटक स्पष्टीकरण सोधेर हटाउने प्रयास गरिएको थियो। "सरकारको यो निर्णय दुई तिहाईको दम्भमा गरिएको छ, यसको प्रतिरोध गरिनुपर्छ," प्रचण्डको भनाइ छ।
गगन थापा: ‘सरकारले गलत निर्णय गर्यो’
कांग्रेस नेता गगन थापाले सरकारको निर्णयलाई ‘गलत’ भनेका छन्। "सरकार आफैंले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्यो," उनले सामाजिक सञ्जालमा लेखेका छन्। "हामीले यस्तो नगरौँ भनेका थियौँ, तर सरकार उल्टो बाटो हिँड्न खोज्दैछ। मन्त्रीहरू बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नुपर्थ्यो, तर विडम्बना, त्यो भएन।"
विश्वप्रकाश शर्मा: ‘सरकारको निर्णय समयोचित भएन’
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कुलमानलाई हटाउने निर्णय कांग्रेस नेतृत्वको सहमतिमा नभएको बताएका छन्। "उहाँलाई बाँकी कार्यकाल पूरा गर्न दिनुपर्छ भनेर सजग गराइएको थियो," उनले भने। सरकारको निर्णयले सकारात्मक प्रयासहरूलाई छायामा पार्न खोजेको आरोप लगाउँदै उनले "यो गलत कदम हो" भन्दै असन्तुष्टि व्यक्त गरे।
रवि लामिछाने: ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले नै लिन्छन्’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको कदमको आलोचना गर्दै भने, "कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले नै लिन्छन्!" उनको संकेत सरकारको निर्णयविरुद्ध बढ्दो जनआक्रोशतर्फ छ।
राजेन्द्र लिङ्देन: ‘विद्युत प्राधिकरणमा प्रतिगमन’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको निर्णयलाई ‘प्रतिगमन’ को संज्ञा दिएका छन्। "नेपाल विद्युत् प्राधिकरणमा चरम राजनीतिक हस्तक्षेप भयो, जसले ऊर्जा क्षेत्रमा पुन: संकट निम्त्याउने खतरा छ," उनले चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा आक्रोश
कुलमान घिसिङको बर्खास्तीप्रति सर्वसाधारणले सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन्। कतिपयले "माफियाहरूको दबाबमा सरकारले कुलमानलाई हटाइयो" भन्दै सरकारको कदमलाई लोडसेडिङ पुन: ल्याउने षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।
सरकारको यो निर्णयले उर्जा क्षेत्रमा दीर्घकालीन असर पार्ने विश्लेषण भइरहेका बेला अब घिसिङको कदम के हुने भन्ने चासो पनि बढेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology