काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा र बाँकी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक तयारी गर्न र असरबाट जोगिन सावधानी अपनाउन अनुरोध गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology