काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम गरिरहेको बताए ।
मन्त्री खड्काले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको गुनसो गरे । बत्ती गएको ठाउँ सोधेर नेपालको उक्त ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको तर बत्ती गयो भन्दै दुःख दिने काम गरेको उनको भनाइ छ ।
यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन उनले सबैलाई आग्रह गरे । अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भनेर सूचना दिने गरेको समेत मन्त्री खड्काले बताएका छन् । उत्पादनको कमीले लोडसेडिङ नभएको दाबी गर्दै कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएको उल्लेख गरे ।
उनले भने, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैल्याउने काम भएको छ । पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’ उर्जा, पर्यटन र कृषिबाट नेपालको समृद्धि सम्भव रहेको मन्त्री खड्काको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology