काठमाडौँ । सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले देशभरी करीव १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ ।
समुदायस्तरमा विपद् सम्बन्धि सूचना प्राप्तीमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागिएको हो ।
यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरुमा २५ जनाको दरले विपद् सूचक समुह निर्माण गर्नुपर्ने हुन्छ । जस अनुसार देशभरीका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिनेछ ।
यसबाट विपद् सम्बन्धि सूचना तत्काल प्राप्त हुने र सोही अनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्वारमा सहजता हुने विश्वास मुख्यालयको छ । विपद् सुचक समुह तयार भएपछि उनीहरुलाई विपद् सचेतनामूकल प्रशिक्षण प्रदान गर्ने विपद् सिमुलेशन अभ्यासमा सहभागि गराउने योजना समेत सशस्त्र प्रहरी बलको छ ।
यसैबीच सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्वारक पनि तयार गर्दैछ । गत जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित गोताखोर तालिम समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसैवर्ष सातवटै प्रदेशमा करीव १ हजार समुदाय विपद् उद्वारक तयार गर्ने योजना सार्वजनिक गरेका थिए ।
जसअनुसार मुख्यालयले यसको तयारी स्वरुप मातहत कार्यालयमा विपद् उद्वारक स्वयंसेवक तालिम पनि शुवात गरेको छ । समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिईनेछ । त्यसमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology