काठमाडौं । भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले तत्काल उद्धार, राहत र पुनःस्थापनासँगै विपद् पूर्वतयारी तथा पूर्वसूचना प्रणाली सुधारलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा जोड दिएको छ ।
बैठकमा सहभागी दलका नेताहरूले विपद्को प्रतिकार्यमा राजनीतिकरण अन्त्य गर्दै उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी समन्वय गर्नुपर्ने धारणा राखेका छन् । बैठकका सहभागीहरुले सञ्चार सम्पर्क तत्काल पुनःस्थापना गर्नुपर्ने, प्रभावित नागरिकको अस्थायी पुनर्वास सुरु गर्नुपर्ने तथा स्वयंसेवक परिचालनका लागि सरकारले औपचारिक आह्वान गर्नुपर्ने सुझाव दिएका छन् ।
नेपाली कांग्रेसका नेता गगन थापाले विपद्को विषय केही दिनपछि ओझेलमा पर्न सक्ने भन्दै यसलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताए । जलवायु परिवर्तन, हिमताल विस्फोट र हिमाली विपद्का जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा सबै दल एकजुट रहेको सन्देश दिनुपर्ने बताए । उनले पूर्वसूचना प्रणालीलाई विश्वसनीय र समयमै सूचना प्रवाह गर्न सक्ने बनाउनुपर्ने तथा जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए ।
एमाले नेता शंकर पोखरेलले बेपत्ता तथा मृतकको पहिचान र शव खोजीका लागि विशेष कार्यदल गठन गर्नुपर्ने, उद्धार तीव्र बनाउनुपर्ने तथा खानेपानी, विद्युत् र अत्यावश्यक पूर्वाधार तत्काल पुनःस्थापना गर्नुपर्ने बताए । पूर्वसूचना प्रणाली किन प्रभावकारी हुन सकेन भन्ने विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धार तथा प्रतिकार्यमा राजनीतिकरण अन्त्य गर्नुपर्ने र राहत, उद्धार तथा सहयोग संकलनदेखि वितरणसम्म एकद्वार प्रणाली लागू गर्नुपर्ने बताए । नेपाल, भारत र चीनबीच विपद् पूर्वसूचना तथा सूचना आदानप्रदानको त्रिपक्षीय संयन्त्र बनाउनुपर्ने प्रस्ताव पनि उनले राखे ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले रसुवागढी भन्सार क्षेत्रमा १५ जना बेपत्ता रहेको जानकारी दिँदै करिब ७०० मेगावाट क्षमताका विद्युत् आयोजनामा ठूलो क्षति पुगेको बताए । प्रभावित क्षेत्र र अर्थतन्त्रको पुनःस्थापनाका लागि तत्काल आर्थिक प्याकेज ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
वाग्लेका अनुसार विश्व बैंक, चीन, अमेरिका, एसियाली विकास बैंक, भारतलगायतबाट सहयोगको प्रतिबद्धता आएको छ ।
बैठकपछि रास्वपा सभापति लामिछानेले विपद्को गम्भीरतालाई आत्मसात् गर्दै सहयोग र सहकार्यका लागि सबै दललाई धन्यवाद दिँदै साझा धारणा समेटिएको संयुक्त वक्तव्य जारी गरिने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology