देवदह । प्रगति सामुदायिक वन उपभोक्ता समुह देवदह-९ ले यसबर्ष वन सम्वद्र्धन प्रणाली अन्तर्गत कटान मुछान कार्य सम्पन्न गरेको छ । कटान मुछान अन्तर्गत पुनरुत्पादन तथा ढलापडा कटानबाट ६८४८।५५ क्यूफिट काठ संकलन गरेको समुहले जनाएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा आवधिक खण्ड १, उपखण्ड ८ को २।७४ हेक्टर क्षेत्रफलमा पुनरुत्पादन तथा सम्पूर्ण वन (२८४।७३) हेक्टर क्षेत्रबाट ढलापडा गरी उक्त परिमाणको काठ संकलन गरेको समुहका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए ।
रानाका अनुसार यसबर्ष पुनरुत्पादन तर्फ साल जातका १०५ वटा र अन्य जातका ४२ वटा रुखबाट ५१४७।९१ क्यूफिट काठ र १६ चट्टा दाउरा संकलन भएको छ । यसैगरी ढलापडा कटान तर्फ साल जातका २७ र अन्य जातका ३ वटा रुखबाट कुल १७००।६४ फिट काठ तथा ४ चट्टा दाउरा संकलन भएको रानाले बताए ।
डिभिजन वन कार्यालय रुपन्देहीबाट यस आर्थिक बर्षमा ८२७८।१२ क्यू फिट काठ संकलन गर्ने अनुमति पाएको समूहले पुनरुत्पादन तर्फ साल जातका १०५ वटा रुखबाट ५४०१।७६ क्यूफिट र अन्य विभिन्न जातका ४२ वटा रुखबाट ७६०।३० क्यू फिट गरी जम्मा ६१६२।०६ क्यूफिट कटानको लागि सहमति पाएको थियो । जसमा १८।९४ चट्टा दाउरा संकलन गर्ने उल्लेख थियो ।
यसैगरी ढलापडा तर्फ साल जातका २७ वटा रुखबाट १९०२।९५ क्यूफिट र अन्य जातका ३ वटा रुखबाट २१२।११ गरि कुल २११५।०६ क्यूफिट काठ संकलनको सहमति पाएको थियो । ढलापडा तर्फ ५।९७ चट्टा दाउरा संकलनका लागि समूहले सहमति पाएको हो ।
डिभिजन वन कार्यालयबाट प्राप्त सहमति बमोजिम कटान कार्य सुरु गरेको समुहले संकलनसम्म आईपुग्दा १४२९।५७ क्यूफिट काठ कम संकलन भएको जनाएको छ । यस्तै दाउरा तर्फ ४।९१ चट्टा कम संकलन भएको अध्यक्ष रानाले जानकारी दिए । दाउराको हकमा अत्यावश्यक परेका केहि उपभोक्ताले दाउरा लगेकाले त्यो समेत जोड्दा दाउराको परिमाण मिल्दोजुल्दो भएको उनले बताए ।
विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा सोमवार गरिएको पुनरुत्पादन कटान तथा समूहको घाटगद्धी क्षेत्रको अनुगमन तथा निरीक्षणका क्रममा समुहका अध्यक्ष रानाले खडा रुखलाई हेरेर काठको परिमाण अनुमान गरिने भएकाले फरक पर्ने गरेको बताए । संकलनका बेलासम्म कतिपय काठको लागि अनुमान गरिएका रुखहरु दाउराको रुपमा निस्कने भएकाले पनि परिमाण घट्न गएको उनले बताए ।
वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम गत फाल्गुन १५ गते डिभिजन वन कार्यालय रुपन्देहीबाट काठ दाउरा सकलन सहमति पाएको समुहले फाल्गुन १८ गतेबाट वनपैदावर कटान तथा संकलन कार्य सुरु गरेको थियो ।
अनुगमनको क्रममा समुहका उपाध्यक्ष एवम् कटान मुछान उपसमितिका संयोजक दिपक पाण्डेले वार्षिक खण्ड १ को उपखण्ड ८ अन्तर्गत २।७४ हेक्टर क्षेत्रफलमा मा ९५ वटा विभिन्न प्रजातिका रुखलाई माउ रुखको रुपमा छाडिएको जानकारी दिए । कटान कार्य सम्पन्न भएको केहि दिनमै सो क्षेत्रमा प्रसस्त रुपमा नयाँ विरुवाहरु देखिएकाले केहिबर्षमानै वनको हैसियत सुधार हुने अपेक्षा गरेको पाण्डेले बताए ।
सोहि अवसरमा समूहका सचिव बर्षा तिवारीले निर्धारित समयमै काठ दाउरा संकलन कार्य सम्पन्न भएको जानकारी दिईन् । ‘बर्षा हुनु अगावै यस वर्ष वनको सम्पूर्ण काम सकिएको छ । अव विक्रि सहमतिको लागि डिभिजन वन कार्यालयमा पत्राचारको तयारी समेत गरेका छौं ।’ उनले भनिन्, ‘अब केहि दिनमा बिक्रि सहमति आउँछ र उपभोक्ता तथा लिलाम बिक्रिका लागि समेत प्रक्रिया अघि बढ्छ ।’
यसैगरी समुहका सदस्य इश्वरी घिमिरेले कटानको क्रममा सबै कामदारको दुर्घटना विमा गरिएकाले जोखिम कम भएको बताए । यसअघि बिमा गर्ने परिपाटी नभएपनि यसपटक बिमा गरेका कारण कामदारले निस्फिक्री रुपमा काम गरेको उनले जानकारी दिए । करिव ५ सय जना कामदार प्रयोग भएको कटान मुछान (वन पैदावर संकलन) कार्यमा करिव ७ लाख रुपैंया खर्च भएको समुहले जनाएको छ ।
अनुगमनको क्रममा वन प्राविधिक, समूहका पदाधिकारी, उपभोक्ता प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology