देवदह । शहरी स्वास्थ्य केन्द्र देवहद–४ भवानीपुरले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा दुइ सय ८० जनाले सेवा लिएका छ्न् । शिविरमा छाला तथा यौन रोग विशेषज्ञ सेवा, स्त्री रोग विशेषज्ञ सेवा, महिलाको सर्भाइकल क्यान्सरको भिआईए स्क्रिनिङ्ग परिक्षण गरि औषधी समेत वितरण गरिएको थियो ।
सो क्रममा एक सय ३० जनालाई छाला तथा यौनरोग सेवा, एक सय ५० जनालाई महिला तथा स्त्री रोग सेवा प्रदान गरिएको शहरी स्वास्थ्य केन्द्रका प्रमुख मेघनाथ न्यौपानेले जानकारी दिए । जसमध्ये ३ जनालाई पाठेघर खस्ने समस्या, ६ जना पाठेघरको मुखमा घाउ (इरोजन), २ जनामा पाठेघरको मुखमा गाँठा (पोलिप)को समस्या देखिएको न्यौपानेले जानकारी दिए ।
यसैगरी शिविरमा आएका ३० जनाको ब्रेस्ट स्क्रिनिङ्ग गरिएकोमा ५ जनामा समस्या देखिएकाले उनीहरुलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल रेफर गरिएको छ । त्यस्तै भिआईए परिक्षणको क्रममा ६ जनामा पोजेटिभ भेटिएको छ । पोजेटिभ देखिएकाहरुलाई समेत आवाश्यक थप परिक्षण तथा उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको प्रमुख न्यौपानेले बताए ।
शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ डा. विष्णु गौतम र छाला तथा यौनरोग विशेषज्ञ डा. बिक्रम ज्ञवालीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
यसअघि शिविर उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले स्वास्थ्य उपचारमा सहजताका लागि बिमा कार्यक्रममा जोडिनका लागि सहभागिहरुलाई आग्रह गरेका थिए । उनले एउटा परिवारमा तीन हजार पाँच सय रुपैंयाले ५ जनासम्मको स्वास्थ्य बिमा हुने र एक लाख रुपैंयासम्म उपचार खर्च पाईने भएकाले त्यसमा जोडिन सहभागिहरुलाई आग्रह गरे । उनले भने, ‘देवदह नगर अस्पताललाई बिमाको प्रस्थान विन्दुको रुपमा स्थापित गरिएको छ । यसबाट देवदहवासीले सेवा लिनुपर्छ ।’
देवदह-४ का वडा अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दमननाथ रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology