राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं.१३ ले वडामा रहेका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना मुलुक कार्यक्रम सुरु गरेको छ । वडा अध्यक्ष किरण बरालका अनुसार रतन पाण्डे माविबाट यो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
स्थानीय सरोकार स्वास्थ्य र शिक्षामा सरकार भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमलाई अभियानका रूपमा अघि बढाइने वडा अध्यक्ष बरालले बताए। “सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण सहित अभिभावकहरूमा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेछ, वडाध्यक्ष बरालले भने, रतन पाण्डे माविबाट सुरु भएको कार्यक्रमलाई हामीले वडामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विस्तार गर्दै लैजानेछौँ ।” शिक्षासँगै स्वास्थ्य प्रति पनि विद्यार्थी र अभिभावकहरूलाई सजग बनाउँदै जनचेतना अभिवृद्धि गर्ने लक्ष्य रहेको बरालले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख कृष्णप्रसाद अर्यालले विद्यार्थीहरूलाई उचित शिक्षा सहित स्वास्थ्यको पनि आवश्यक ज्ञान दिनु आवश्यक रहेको बताए। सानो उमेरका विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण नगरिँदा पछि विभिन्न समस्याहरू देखिने र उनीहरूको सिकाइ क्षमतामा समेत प्रत्यक्ष असर पर्ने गरेको उनले बताए ।
पोखरा महानगरपालिका आफ्ना नागरिकहरूको स्वास्थ्य प्रति सचेत रहेको बताउँदै अर्यालले आधारभूत सेवामा सबै नगरवासीहरूको पहुँच वृद्धि गरिएको बताए ।
बिहीबार करिब २०० जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरू मध्ये ३ जना विद्यार्थीहरूमा उमेर अनुसार तौल नभएको (कम) पाइएको छ । १०५ जनाको ल्याब परीक्षण मार्फत ब्लड ग्रुप र रगतमा हुने हेमोग्लोविनको परीक्षण गरिएको छ । अन्यको आँखा र छाला सम्बन्धी रोगको परीक्षण गरिएको वडा अध्यक्ष बरालले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology