काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तीनै तहका सरकारले खानेपानी क्षेत्रमा मात्रै ध्यान केन्द्रित गर्दा सरसफाईको क्षेत्र उपेक्षित भएको बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले सरसफाईको क्षेत्रलाई प्राथमिकतामा ल्याउन सबै दलहरुले राजनीतिक प्रतिवद्धता गर्न आवश्यक रहेको बताए ।
मन्त्री यादवले खुला दिशामुक्त क्षेत्र घोषणाजस्तै सरसफाईलाई समेत राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले सन् २०३० सम्म ९९ प्रतिशत जनतालाई आधारभुत खानेपानी र ९० प्रतिशत जनतालाई शुद्ध खानेपानी पु¥याउने सरकारको लक्ष्य रहेको समेत बताए । यद्यपि बजेटमा व्यवस्थापन गर्न नसकिए लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने उनको भनाइ छ ।
उनले भने, ‘सन् २०३० सम्म ९९ प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउने र ९० प्रतिशत जनतामा स्वच्छ खानेपानी लक्ष्य राखेका छौँ । यसका लागि चुनौती पनि रहेको छ । दिगो विकासको लक्ष्य पुरा गर्न बजेटको अभाव र जनशक्तिको पनि अभाव रहेको छ । त्यसकारण बजेटमा व्यवस्थापन भएन भने सन् २०३० सम्म सरकारले लिएको लक्ष्यउ पुरा गर्न कठिन हुन्छ जस्तो लागेको छ ।’
मन्त्री यादवले अगामी आर्थिक वर्षको लागि खानेपानी मन्त्रालयले सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरे । संघ सरकारले बजेट पठाउँदा संघीयता कार्यान्वयनको विषयलाई पनि ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै सोही अनुरुप बजेट विनियोजन गरिएको दाबी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology